मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ८५ करोड ५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न १९औँ नगरसभामा उपमेयर राजेश बानियाँले बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको तुलनामा ५ करोड रुपैयाँ कम बजेट प्रस्ताव गरिएको जानकारी दिए।
उपमहानगरपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र सुशासनलाई आगामी वर्षका मुख्य प्राथमिकताका रूपमा अघि सारेको छ। कुल बजेटमध्ये ५७ करोड ३६ लाख ८० हजार रुपैयाँ आन्तरिक स्रोतबाट जुटाउने लक्ष्य राखिएको छ भने राजस्व बाँडफाँट, प्रदेश तथा सङ्घीय सरकारको अनुदानबाट बाँकी स्रोत व्यवस्थापन गरिने जनाइएको छ।
पूर्वाधार विकासतर्फ ६७ करोड १९ लाख ८१ हजार रुपैयाँ विनियोजन गरिएको छ। वडास्तरीय योजना तथा कार्यक्रमका लागि ४८ करोड ४० लाख ६२ हजार रुपैयाँ छुट्याइएको छ भने सडक सुरक्षा, उज्यालो सहर कार्यक्रम, सिसिटिभी जडान तथा सडक बोर्डका योजनालाई समेत बजेटमार्फत प्राथमिकता दिइएको छ।
खानेपानी व्यवस्थापन बोर्डसँगको साझेदारीमा खानेपानी आयोजनाका लागि १ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि ४ करोड ६० लाख र सहरी विकास तथा पूर्वाधार कार्यक्रमका लागि २६ करोड ४९ लाख रुपैयाँ छुट्याइएको छ।
शिक्षा क्षेत्रमा विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण, गुणस्तरीय शिक्षाको प्रवर्द्धन र प्राविधिक शिक्षाको विस्तारलाई जोड दिइएको छ। स्वास्थ्यतर्फ ‘मेयरसँग जनता स्वास्थ्य कार्यक्रम’, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि घरदैलो स्वास्थ्य सेवा र मातृ–शिशु स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।
























