बागमती प्रदेशका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप अभाव भएपछि उपचार सेवा प्रभावित बनेको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमै खोपको मौज्दात समाप्त भएपछि हेटौंडा अस्पतालसहित प्रदेशका विभिन्न जिल्लाका अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा खोप उपलब्ध गराउन कठिनाइ भएको हो।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार पछिल्ला केही महिनादेखि रेबिज खोपको अभाव देखिएको छ। स्वास्थ्य संस्थाहरूबाट निरन्तर माग आए पनि केन्द्रमा मौज्दात नहुँदा वितरण गर्न नसकिएको जनाइएको छ।
चालु आर्थिक वर्षमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त खोप तथा पुरानो मौज्दात प्रयोग गरेर माघ महिनासम्म सेवा सञ्चालन गरिएको थियो। त्यसपछि भने नयाँ आपूर्ति नहुँदा समस्या झन् जटिल बनेको छ। प्रदेशभर मासिक करिब १० हजार भाइल खोप आवश्यक पर्ने भए पनि मागअनुसार उपलब्ध हुन सकेको छैन।
खोप खरिदको अधिकार संघीय सरकारसँग मात्र रहेकाले प्रदेश सरकारले चाहेर पनि तत्काल खरिद गर्न नसकेको सम्बन्धित निकायको भनाइ छ। संघीय स्तरबाट आपूर्ति नहुँदा प्रदेशका स्वास्थ्य संस्थाहरूले वैकल्पिक उपाय अपनाउन थालेका छन्।
खोप अभावकै बीच मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालले आफ्नै स्रोतबाट करिब १० लाख रुपैयाँ बराबरको रेबिज खोप खरिद गरी सेवा सञ्चालन गरेको थियो। हाल पुनः थप खोप खरिद प्रक्रिया अघि बढाइएको अस्पतालले जनाएको छ।
कुकुर, बिरालो तथा अन्य जनावरले टोकेपछि लगाइने रेबिज खोपको माग वर्षभर उच्च रहने भएकाले मौज्दात छिट्टै सकिने स्वास्थ्यकर्मीहरू बताउँछन्। सरकारी अस्पतालमा खोप नपाएपछि धेरै बिरामी निजी अस्पताल तथा क्लिनिकको भर पर्न बाध्य भएका छन्, जहाँ उपचार खर्च तुलनात्मक रूपमा महँगो पर्ने गरेको छ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा ले खोप अभाव समाधान गर्न प्रदेश सरकारले टेन्डर आह्वान गर्ने तयारी गरिरहेको बताएका छन्। उनले संघीय आपूर्तिमा अत्यधिक निर्भर रहँदा समस्या उत्पन्न भएको स्वीकार गरेका छन्।
चिकित्सकहरूका अनुसार रेबिज अत्यन्त घातक रोग भएकाले संक्रमित जनावरले टोकेपछि समयमै खोप लगाउनु अनिवार्य हुन्छ। त्यसैले जनस्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राख्दै खोपको नियमित र पर्याप्त आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
























