कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने

नेपाली कला र मनोरञ्जन क्षेत्रका अग्रणी कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित चलचित्र ‘मदनकृष्ण’ निर्माण हुने भएको छ। सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्देशक मिलन चाम्सले चलचित्र निर्माणको औपचारिक घोषणा गरेका हुन्।

यसअघि ‘बबी’, ‘ब्लाइन्ड रक्स’ र ‘अञ्जिला’ जस्ता सफल जीवनीमा आधारित चलचित्र निर्देशन गरिसकेका चाम्सले मदनकृष्णको जीवनलाई पर्दामा उतार्न पाउनु आफ्नो लागि अवसरसँगै चुनौती पनि भएको बताए।

उनले मदनकृष्णको जीवनका अनेक संघर्ष, सफलता र उतारचढावबारे जानकारी पाउँदा यो कथा कुनै चलचित्रभन्दा कम नरहेको महसुस भएको बताए। उनका अनुसार नेपाली समाजले नजिकबाट चिनेका कलाकारको जीवनयात्रालाई यथार्थपरक ढंगले प्रस्तुत गरिनेछ।

कार्यक्रममा बोल्दै मदनकृष्ण श्रेष्ठले आफ्नो जीवनकथालाई चलचित्रमा रूपान्तरण गर्ने साहस गरेको निर्माण टोलीप्रति आभार व्यक्त गरे। उनले आफ्नो जीवन र सफलताको यात्रामा हरिवंश आचार्यको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै हरिवंशबिना आफ्नो कथा अधुरो रहने बताए।

मदनकृष्णले चलचित्रमा आफ्नो भूमिका निर्वाह गर्ने कलाकार महेश त्रिपाठी उपयुक्त छनोट भएको प्रतिक्रिया दिए। उनले महेश त्रिपाठीको अभिनय क्षमता उत्कृष्ट रहेको र चलचित्र सफल बन्नेमा आफू विश्वस्त रहेको बताए।

अभिनेता हरिवंश आचार्यले मदनकृष्णको जीवनकथा चलचित्रका लागि अत्यन्त उपयुक्त रहेको धारणा राखे। उनले मह जोडीको सहकार्य, संघर्ष, सफलता र व्यक्तिगत जीवनका विभिन्न पाटाहरूले दर्शकलाई मनोरञ्जनसँगै प्रेरणा र शिक्षा पनि दिने विश्वास व्यक्त गरे।

उनका अनुसार सबै कलाकारको जीवन चलचित्रका लागि उपयुक्त नहुन सक्छ, तर मदनकृष्णको जीवनमा रहेका अनेक उतारचढावले दर्शकलाई भावनात्मक रूपमा जोड्नेछन्।

चलचित्रमा मदनकृष्ण र हरिवंशसँगै मह सञ्चारसँग आबद्ध किरण केसी, राजाराम पौडेल, गौरीशङ्कर धुजु र नरेन्द्र कंशाकारको समेत सहकार्य रहनेछ। यम थापाको लेखनमा बन्ने चलचित्रमा केकी अधिकारी, यमन श्रेष्ठ, रुषा न्यौपाने, देशभक्त खनाललगायत कलाकारको अभिनय रहने जनाइएको छ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, गायिका आनी छोइङ डोल्मा, गायक प्रेमराजा महत, निर्देशक लक्ष्मण सुवेदी, सुदन केसीलगायतको उपस्थिति रहेको थियो। निर्माण टोलीका अनुसार चलचित्रको छायाङ्कन आगामी भदौ महिनादेखि सुरु गरिनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.