बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विविध कार्यक्रमसहित मनाइरहेको छ। प्रदेशभित्र बोलिने मातृभाषा तथा स्थानीय भाषाको संरक्षण, प्रवर्द्धन र सरकारी कामकाजमा प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले दिवस मनाउन थालिएको हो।
प्रदेश सरकारले २०८१ सालदेखि प्रत्येक वैशाख २४ गते प्रदेश भाषा दिवस मनाउने निर्णय कार्यान्वयनमा ल्याएको थियो। यो दिवस प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार मनाउन सुरु गरिएको हो। उक्त ऐन २०८० कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो।
ऐनको दफा १ को उपदफा ३ अनुसार राजपत्रमा प्रकाशित भएको १८० दिनपछि ऐन कार्यान्वयनमा आउने व्यवस्था गरिएको थियो। सोही प्रावधानअनुसार २०८१ वैशाख २४ गते १८० दिन पूरा भएपछि पहिलो पटक प्रदेश भाषा दिवस मनाइएको थियो।
दिवसको अवसरमा प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ। विभिन्न जिल्लामा भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित कार्यक्रम आयोजना गरिएको जनाइएको छ।















