आर्थिक गणनामा सहभागी हुन व्यवसायीलाई आग्रह, देशभर ३२ प्रतिशत काम सम्पन्न

राष्ट्रिय तथ्यांक कार्यालय ले देशभर सञ्चालन भइरहेको आर्थिक गणनामा सक्रिय सहभागिता जनाउन सबै व्यावसायिक प्रतिष्ठानलाई आग्रह गरेको छ।

कार्यालयअन्तर्गत आर्थिक गणना शाखाका निर्देशक वेदप्रसाद ढकाल ले औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै उद्योग, व्यापार तथा सेवा प्रदायक संस्थालाई सही विवरण उपलब्ध गराउन अनुरोध गरेका हुन्।

राष्ट्रिय आर्थिक अवस्थाको यथार्थ चित्र तयार पार्ने तथा नीतिनिर्माणलाई तथ्यमा आधारित बनाउन वैशाख २ गतेदेखि असार ७ गतेसम्म देशव्यापी आर्थिक गणना सञ्चालन भइरहेको छ।

गणनामा व्यावसायिक कृषि, उद्योग, खानी, व्यापार, निजी व्यवसाय, बैंक, सहकारी तथा अन्य वित्तीय संस्थासहित विभिन्न क्षेत्रका प्रतिष्ठानको विवरण संकलन भइरहेको कार्यालयले जनाएको छ।

हालसम्म दर्ता भएका करिब चार लाख ८० हजार व्यावसायिक संस्था गणनामा समावेश भइसकेका छन्। वैशाख २२ गतेसम्म देशभर करिब ३२ प्रतिशत गणना सम्पन्न भएको निर्देशक ढकालले जानकारी दिए।

नेपालमा पहिलो पटक २०७५ सालमा आर्थिक गणना गरिएको थियो। यसपटक दोस्रो चरणको गणनाका लागि तीन हजार ९०६ गणक र ५२६ सुपरिवेक्षक परिचालन गरिएको छ।

स्थलगत विवरण संकलनसँगै अनलाइन प्रणालीमार्फत पनि विवरण भर्ने व्यवस्था गरिएको छ। हालसम्म सात हजार ४५३ प्रतिष्ठानले अनलाइनमार्फत विवरण दिने प्रतिबद्धता जनाएकामा एक हजार ६१५ संस्थाले विवरण बुझाइसकेको कार्यालयले जनाएको छ।

आर्थिक गणनालाई प्रभावकारी बनाउन प्रदेशदेखि वडा तहसम्म समन्वय समिति गठन गरिएको छ। प्रदेशमा प्रमुख सचिव र जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति सक्रिय रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.