आज विश्वभर विभिन्न कार्यक्रम गरी विश्व रेडक्रस दिवस मनाइँदैछ। नेपालमा पनि नेपाल रेडक्रस सोसाइटीले विविध जनचेतनामूलक तथा मानवसेवासम्बन्धी कार्यक्रम आयोजना गरेर दिवस मनाइरहेको छ।
रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाँ को जन्मदिनको अवसर पारेर हरेक वर्ष मे ८ का दिन विश्व रेडक्रस दिवस मनाउने गरिन्छ। सन् १८६३ मा उनले विश्व रेडक्रस अभियानको सुरुआत गरेका थिए।
यस वर्षको दिवसको मूल नारा ‘मानवतामा एकताबद्ध’ रहेको छ। यो विषयवस्तुले संकटको समयमा करुणा र सेवाभावका साथ काम गर्ने स्वयंसेवक तथा कर्मचारीहरूको भूमिकालाई विशेष रूपमा उजागर गरेको छ। साथै, विभाजित विश्वमा एकता, सामुदायिक सहकार्य र मानवीय सेवाको संरक्षणमा जोड दिइएको छ।
नेपालमा नेपाल रेडक्रस सोसाइटी को स्थापना विसं २०२० भदौ १९ गते भएको थियो। हाल संस्थाको सातै प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्लामा जिल्ला शाखा कार्यालय तथा देशभरका स्थानीय तहमा एक हजार ६ सय १५ उपशाखा कार्यालय सञ्चालनमा छन्। साथै, ६ हजार ९३४ जुनियर तथा युवा सर्कलमार्फत रेडक्रस अभियान समुदायस्तरसम्म विस्तार भएको छ।
नेपाल रेडक्रसमा हाल करिब नौ लाख ३० हजार सदस्य तथा स्वयंसेवक आबद्ध रहेका छन्। देशव्यापी सञ्जालमार्फत संस्थाले विपद् व्यवस्थापन, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाइ, सामुदायिक विकास र मानवीय मूल्य प्रवर्द्धनजस्ता क्षेत्रमा काम गर्दै आएको छ।
अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आइएफआरसी) को आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल रेडक्रसले हरेक वर्ष करिब २५ लाखभन्दा बढी नागरिकलाई विभिन्न सेवा प्रदान गर्दै आएको जनाएको छ।















