काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम निर्माणका लागि नागरिकका सुझाव संकलन गर्न छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित ‘सुझाव संकलन पोर्टल’ सुरु गरेको हो ।
सरकारले भोलि सोमबार सार्वजनिक गर्ने नीति तथा कार्यक्रमलाई नागरिकमैत्री, पारदर्शी र जनमुखी बनाउने लक्ष्यका साथ डिजिटल माध्यमबाट सुझाव संकलन प्रक्रिया अघि बढाएको जनाएको छ ।
मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार देशभित्र तथा विदेशमा रहेका नेपाली नागरिक, विषय विज्ञ र नीति निर्माणसँग सम्बन्धित व्यक्तिहरूले बजेट, विकास प्राथमिकता तथा शासन व्यवस्थासम्बन्धी आफ्ना राय सुझाव सिधै सरकारसमक्ष पठाउन सक्नेछन् ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले नीति निर्माण प्रक्रियालाई सीमित प्रशासनिक दायराभित्र नराखी नागरिकको अनुभव, आवश्यकता र विज्ञतालाई समेट्ने प्रयासस्वरूप यो पोर्टल सञ्चालन गरिएको बताइन् ।
नागरिकहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत पोर्टलमा प्रवेश गरी आफ्ना सुझाव सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पठाउन सक्ने व्यवस्था गरिएको छ ।















