गोदाममा राखेको अन्न धितो राखेर अब बैंकबाट कर्जा पाइने

अब किसान तथा साना व्यापारीले गोदाममा भण्डारण गरेको अन्न धितो राखेर बैंकबाट कर्जा लिन सक्ने भएका छन्। नेपाल वेयरहाउजिङ कम्पनी र लक्ष्मी सनराइज बैंकबीचको सहकार्यपछि ‘वेयरहाउस रिसिप्ट फाइनान्सिङ’ प्रणाली कार्यान्वयनमा आएको हो।

कम्पनीका महाप्रबन्धक नरेन्द्रप्रसाद भट्टका अनुसार गोदाममा राखिएको अन्नको आधारमा जारी गरिने गोदामघर रसिदलाई बैंकले धितोका रूपमा स्वीकार गरी कर्जा उपलब्ध गराउने व्यवस्था सुरु गरिएको छ।

यस योजनाअन्तर्गत पहिलो कर्जा शारदा छिन्नमस्ता ट्रेडर्सलाई स्वीकृत भइसकेको जनाइएको छ। भट्टले विकसित देशहरूमा सामान्य अभ्यास भए पनि नेपालमा वाणिज्य बैंकमार्फत यस्तो प्रणाली पहिलोपटक औपचारिक रूपमा लागू गरिएको बताए।

प्रणालीअनुसार किसान वा व्यापारीले आफ्नो अन्न नेपाल वेयरहाउजिङ कम्पनीको साइलो वा गोदाममा भण्डारण गर्नुपर्नेछ। त्यसपछि कम्पनीले जारी गर्ने गोदामघर रसिदका आधारमा लक्ष्मी सनराइज बैंकले अन्नको बजार मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्नेछ।

हाल व्यक्तिगत ग्राहकले अधिकतम १५ लाख रुपैयाँसम्म तथा संस्थागत ग्राहकले २ करोड रुपैयाँसम्म कर्जा लिन सक्ने व्यवस्था गरिएको छ। कर्जा चुक्ता नभएसम्म धितोमा रहेको अन्न बिक्री वा निकासी गर्न भने पाइने छैन।

यो व्यवस्थाले किसानलाई उत्पादन तत्कालै कम मूल्यमा बेच्नुपर्ने बाध्यता घटाउने अपेक्षा गरिएको छ। बजार मूल्य बढेपछि मात्रै अन्न बिक्री गर्न सकिने भएकाले किसान र साना व्यापारी दुवैलाई फाइदा पुग्ने विश्वास गरिएको छ।

महाप्रबन्धक भट्टले नेपालमा अझै वेयरहाउस रिसिप्ट फाइनान्सिङसम्बन्धी स्पष्ट नीतिगत व्यवस्था अभाव रहेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकले स्पष्ट नीति ल्याए प्रक्रिया अझ प्रभावकारी बन्ने बताए।

भविष्यमा वस्तु विनिमय बजार सञ्चालनमा आए गोदामघर रसिद प्रणाली कमोडिटी बजारको महत्वपूर्ण आधार बन्न सक्ने अपेक्षा समेत गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.