१५ वर्षपछि हत्या आरोपमा ३ जना पक्राउ, मकवानपुर प्रहरीको पुरानो फाइलमा सफलता

हेटौँडा । मकवानपुर प्रहरीले १५ वर्षअघि भएको हत्या घटनामा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । लामो समयदेखि अनुसन्धानको दायरामा रहेको बकैया गाउँपालिका–४ का विकास देउजा हत्या प्रकरणमा प्रहरीले पुनः अनुसन्धान तीव्र बनाएपछि अभियुक्तहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडाका ३० वर्षीय अष्ट लामा, ५५ वर्षीय बद्री कठायत तथा ६५ वर्षीय केदार नगरकोटी रहेका छन् । उनीहरूमाथि २०६८ पुस ८ गते १८ वर्षीय विकास देउजाको हत्या गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ठिंगन र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले मकवानपुरका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजु कुर्मीका अनुसार पुराना तथा थाँती रहेका मुद्दाको अनुसन्धानलाई पुनः सक्रिय बनाउने क्रममा उक्त घटना फाइललाई सूक्ष्म अध्ययन गरेर अघि बढाइएको थियो । प्रारम्भिक अनुसन्धानपछि सरकारी वकिल कार्यालय हुँदै अदालत पुगेको फाइल पोस्टमार्टम तथा घाउचोटसम्बन्धी रिपोर्टका आधारमा थप अनुसन्धानका लागि प्रहरीमै फिर्ता आएको थियो ।

प्रहरीले सोही फाइललाई पुनः अध्ययन गर्दै अनुसन्धान अगाडि बढाएपछि अभियुक्तहरू पक्राउ परेको जनाएको छ । पक्राउ परेकाहरूको बयान लिने तथा थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.