हेटौँडा— मकवानपुरमा सम्पन्न मध्य पृतनापति ट्रफी प्रतियोगितामा ७ नम्बर वाहिनी चनवन च्याम्पियन बनेको छ। विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै ७ नम्बर वाहिनीले फुटबल, भलिबल, तेक्वान्दो र एथलेटिक्ससहितका खेलमा स्वर्ण पदक जितेर उपाधि हात पारेको हो।
सोमबार हेटौँडाको सुपारीटार ब्यारेकस्थित फुटबल मैदानमा भएको फाइनल खेलमा ७ नम्बर वाहिनीको गोरखबहादुर गणले ६ नम्बर वाहिनीको शेर गणलाई ३–० गोलले पराजित गर्दै फुटबलतर्फ पनि स्वर्ण जितेको छ।
वैशाख १४ देखि जारी प्रतियोगितामा बास्केटबलतर्फ ६ नम्बर वाहिनी विजयी भएको थियो भने भलिबलतर्फ ७ नम्बर वाहिनीको गोरखबहादुर गणले उपाधि जितेको थियो। स्विमिङ, बक्सिङ र जुडोजस्ता केही विधामा ६ नम्बर वाहिनीले पनि स्वर्ण हात पारेको थियो।
प्रतियोगितामा भलिबल, फुटबल, बास्केटबल, स्विमिङ, जुडो, बक्सिङ र एथलेटिक्ससहित ८ विधामा प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा ५ सय ५० खेलाडी सहभागी थिए, जसमा १ सय २५ महिला खेलाडीसमेत रहेका थिए।
विजेता वाहिनी, गण तथा खेलाडीहरूलाई मध्य पृतना हेटौँडाका पृतनापति विष्णु कुमार खड्का, प्रजिअ बसन्त अधिकारी, उच्च सुरक्षा अधिकारीहरू र अन्य विशिष्ट व्यक्तिहरूले ट्रफी तथा पदक वितरण गरेका थिए।
प्रतियोगिताका विजेताहरूलाई अब प्रधान सेनापति ट्रफी प्रतियोगिताका लागि क्लोज क्याम्पमा पठाइने जनाइएको छ।















