हेटौँडाको ब्रह्मदिक एकेडेमीले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । हेटौँडा–४ स्थित विद्यालयले बिहीबार आयोजित कार्यक्रममा ४ जीपीए प्राप्त गर्ने दुई विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरेको हो ।
विद्यालयबाट सहभागी कृष्मा लौडारी र अभास घिमिरेले राष्ट्रिय परीक्षा बोर्डद्वारा सार्वजनिक नतिजामा ४ जीपीए हासिल गरेका थिए । त्यस्तै ३ दशमलव ६ भन्दा माथि जीपीए ल्याउने ११ जना विद्यार्थीलाई पनि जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष मधुकरसिंह थापा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा अभिभावक, शिक्षक तथा कक्षा ९ र १० का विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रिन्सिपल रामबाबु सापकोटा र सहायक प्रिन्सिपल अर्चना दाहालले उत्कृष्ट नतिजाले विद्यालयको शैक्षिक स्तर थप उचो बनाएको बताएका थिए ।
यस वर्ष ब्रह्मदिक एकेडेमीबाट एसईईमा सहभागी ५० विद्यार्थीमध्ये ४७ जना ग्रेडेड भएका छन् भने ३ जना नन–ग्रेडेड भएका छन् ।















