राष्ट्रपति रनिङ शिल्डको उपाधि बागमतीलाई, बकैया दोस्रो

मकवानपुर जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागमती गाउँपालिकाले हात पारेको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सोमबारदेखि सञ्चालन भएको प्रतियोगिता बिहीबार सम्पन्न भएको हो ।

प्रतियोगितामा बागमती गाउँपालिकाले २५ स्वर्ण, १५ रजत र १२ कास्य पदक जित्दै समग्र उपाधि कब्जा गर्यो । १६ स्वर्ण, ४ रजत र ४ कास्यसहित बकैया गाउँपालिका दोस्रो स्थानमा रहँदा साविक विजेता हेटौँडा उपमहानगरपालिका १५ स्वर्ण, ६ रजत र १० कास्यसहित तेस्रो स्थानमा सीमित भयो ।

यसअघि १४औँ र १५औँ संस्करण लगातार जितेको हेटौँडाले यसपटक उपाधि जोगाउन सकेन । गत संस्करणमा हेटौँडाले १५ स्वर्ण, १० रजत र ९ कास्य पदक जितेको थियो ।

प्रतियोगितामा राक्सिराङ गाउँपालिकाबाहेक जिल्लाका ९ स्थानीय तहको सहभागिता रहेको थियो । भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु, दौड तथा एथ्लेटिक्स खेल समावेश गरिएको प्रतियोगितामा उसुतर्फ भने हेटौँडा र बागमतीका टोली मात्र सहभागी भएका थिए ।

समापन समारोह जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान प्रमुख अतिथि रहेका थिए । साथै बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य अमृत लुङ्बा, जिल्ला खेलकुद कार्यालय प्रमुख वीरेन्द्र ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष मोक्तानले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगिताको तयारीका लागि विशेष प्रशिक्षण क्याम्पमा राखिने जानकारी दिए । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १३ देखि १५ गतेसम्म सञ्चालन हुने तय गरिएको छ ।

समापन समारोहकै अवसरमा भारतमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका मकवानपुरका खेलाडी र निर्णायकलाई पनि सम्मान गरिएको थियो । भारतको आसाममा आयोजित चौथो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिपमा सहभागी खेलाडी र निर्णायक तथा गोरखपुरमा सम्पन्न हक्की गर्ल्स फ्रेन्डसिप प्रतियोगितामा रजत पदक जित्ने खेलाडीलाई सम्मानपत्र प्रदान गरिएको खेलकुद समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.