काठमाडौं । सर्वोच्च अदालतले सुकुम्बासी बस्ती नहटाउन अन्तरिम आदेश दिए पनि सरकारले विभिन्न ठाउँमा डोजर चलाउन थालेपछि देशभरका भूमिहीन र सुकुम्बासी परिवार त्रसित बनेका छन् । उठिबासको डर बढ्दै गएपछि विभिन्न जिल्लाका सुकुम्बासीहरू सरकारलाई दबाब दिन काठमाडौंको माइतीघरमा भेला भएका छन् ।
सर्लाहीको बागमती नगरपालिका–४ जिरादका ७१ वर्षीय जितबहादुर गोले सरकारको पछिल्लो कदमले आफूहरू असुरक्षित बनेको बताउँछन् । वर्षौंदेखि बसोबास गर्दै आएको ठाउँबाट कुनै वैकल्पिक व्यवस्था बिना हटाउन खोजिएको भन्दै उनी आक्रोशित छन् । “भोट माग्दा लालपुर्जा दिने वाचा गरे, अहिले डोजर लिएर आए,” उनले गुनासो गरे ।
रौतहटकी रेनुका मगर पनि उस्तै पीडामा छिन् । चन्द्रपुर नगरपालिका–५ को नहरटोलमा दुई दशकभन्दा बढी समयदेखि बस्दै आएकी उनलाई अहिले घर खाली गर्न ३५ दिने सूचना दिइएको छ । बाढीले पुरानो घर बगाएपछि सरकारले नै बसाएको ठाउँबाट फेरि हटाउन खोजिएको भन्दै उनी भन्छिन्, “हामीलाई बस्ने ग्यारेन्टी देऊ, हामी जान तयार छौं ।”
देशका विभिन्न जिल्लाबाट आएका सुकुम्बासीहरूको एउटै गुनासो छ—सरकारले व्यवस्थापनभन्दा विस्थापनलाई प्राथमिकता दियो । उनीहरूका अनुसार विकल्प नदिई गरिएको हटाउने अभियानले हजारौं परिवारको बास मात्रै होइन, भविष्यसमेत अन्योलमा परेको छ ।
सर्वोच्च अदालतले वैशाख २५ गते भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई वैकल्पिक व्यवस्था नगरी हटाउन नपाइने अन्तरिम आदेश दिएको थियो । अदालतले आवासको हक र मानवअधिकारको संरक्षण गर्न सरकारलाई निर्देशन समेत दिएको छ । तर, आदेशपछि पनि केही स्थानमा डोजर अभियान नरोकिएको भन्दै सुकुम्बासीहरूले विरोध जनाएका छन् ।
राष्ट्रिय भूमि अधिकार मञ्चका अध्यक्ष ल्यामबहादुर दर्जीका अनुसार अहिले २० जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आएका छन् । “देशभर त्रास फैलिएको छ । कतै सात दिने, कतै ३५ दिने सूचना टाँसिएको छ । मानिसहरू रातभर जाग्राम बस्न बाध्य छन्,” उनले बताए ।
भूमि समस्या समाधान आयोगको तथ्यांकअनुसार देशभर १ लाख ६८ हजारभन्दा बढी भूमिहीन सुकुम्बासी र ८ लाखभन्दा बढी अव्यवस्थित बसोबासी रहेका छन् । तर, आयोग खारेज भएसँगै सुकुम्बासी व्यवस्थापन प्रक्रिया अन्योलमा परेको छ ।
सरकारले भने सार्वजनिक जग्गा संरक्षण, नदीकिनार व्यवस्थापन र अव्यवस्थित बसोबास नियन्त्रणका लागि अभियान चलाइएको जनाएको छ । तर, सुकुम्बासीहरू भने आफूहरूलाई अपराधीझैं व्यवहार गरिएको भन्दै आन्दोलित बनेका छन् ।















