पछिल्लो समय मोटोपना विश्वभरकै गम्भीर स्वास्थ्य समस्याका रूपमा देखिन थालेको छ । अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी र अव्यवस्थित जीवनशैलीका कारण मोटोपना बढ्दै गएको चिकित्सकहरू बताउँछन् । मोटोपनाले फ्याटी लिभर, मुटु, मिर्गौला तथा मधुमेहजस्ता विभिन्न रोग निम्त्याउने भएकाले समयमै नियन्त्रण आवश्यक मानिन्छ ।
विशेषज्ञहरूका अनुसार तौल घटाउन सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ जीवनशैली अनिवार्य हुन्छ । यसका साथै पेट सफा राख्न र मेटाबोलिजम सुधार गर्न लौकाको जुस उपयोगी मानिएको छ । आयुर्वेदमा लौकालाई शरीर शीतल बनाउने तथा विषाक्त पदार्थ हटाउने प्राकृतिक औषधिका रूपमा लिने गरिन्छ ।
लौकाको जुसमा ९० प्रतिशतभन्दा बढी पानी हुने भएकाले यसले शरीरमा पानीको मात्रा सन्तुलित राख्न मद्दत गर्छ । साथै यसमा प्रशस्त फाइबर पाइने भएकाले लामो समयसम्म पेट भरिएको महसुस हुन्छ र अनावश्यक खाने बानी कम हुन्छ । १०० ग्राम लौकामा करिब १२ देखि १५ क्यालोरी मात्रै हुने भएकाले तौल घटाउन खोज्नेहरूका लागि यो लाभदायक मानिन्छ ।
चिकित्सकहरूका अनुसार बिहान खाली पेटमा एक गिलास लौकाको जुस पिउँदा पाचन प्रणाली सुधार हुनुका साथै बोसो घटाउने प्रक्रिया तीव्र हुन सक्छ । यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न र मेटाबोलिजम सन्तुलित राख्न सहयोग पुर्याउँछ ।
तर, लौकाको जुस सेवन गर्दा सावधानी अपनाउन पनि सुझाव दिइएको छ । स्वस्थ वयस्कले दैनिक १५० देखि २०० मिलिलिटरसम्म मात्रै जुस सेवन गर्नु उपयुक्त मानिन्छ । जुस पिएपछि कम्तीमा आधा घण्टासम्म केही नखान चिकित्सकहरूको सुझाव छ ।
विशेषगरी लौका तितो भए त्यसको जुस सेवन गर्न नहुने विज्ञहरू चेतावनी दिन्छन् । तितो लौकामा ‘कुकुरबिटासिन’ नामक विषाक्त पदार्थ हुने भएकाले यसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । त्यसैले जुस बनाउनुअघि लौकाको सानो टुक्रा चाखेर मात्रै प्रयोग गर्न सुझाव दिइएको छ ।एजेन्सी















