निर्माण सामग्रीको चर्को मूल्यवृद्धिविरुद्ध निर्माण व्यवसायी संघ मकवानपुरको ध्यानाकर्षण

हेटौँडा । निर्माण सामग्रीमा भएको चर्को मूल्यवृद्धिका कारण निर्माण क्षेत्र प्रभावित बनेको भन्दै निर्माण व्यवसायी संघ मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष बाल गोपाल कंडेलको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न तथा निर्माण व्यवसायीका समस्याप्रति सरकार गम्भीर बन्न आग्रह गरेको हो । संघले डिजेल, बिटुमिन, डण्डी लगायत निर्माण सामग्रीको मूल्य निरन्तर बढ्दा पुरानो दररेटमा ठेक्का सम्झौता गरेका व्यवसायीहरू ठूलो आर्थिक मारमा परेको जनाएको छ ।

मूल्यवृद्धिका कारण कतिपय निर्माण आयोजना प्रभावित बनेको तथा काम ठप्प हुने अवस्था सिर्जना भएको संघको भनाइ छ ।

ज्ञापनपत्रमार्फत संघले मूल्य समायोजनको व्यवस्था गर्न, बैंक ग्यारेन्टी तथा इन्स्योरेन्समा सहजीकरण गर्न, आवश्यक बजेट तथा म्याद थपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । यसअघि संघले मूल्यवृद्धिको विरोधमा धर्ना कार्यक्रमसमेत आयोजना गरेको थियो । समयमै समस्या समाधान नभए निर्माण कार्य स्वतः बन्द हुने अवस्था आउन सक्ने संघले चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.