हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१५ घर भई हाल वडा नम्बर ४ कमलडाँडामा बस्दै आएकी २२ वर्षीया सजिना लामा पाख्रिन, २७ वर्षीय अमुल प्रजापति र २८ वर्षीय विमल श्रेष्ठ रहेका छन् ।
वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा बिहीबार साँझ कमलडाँडास्थित डेरामा छापा मारेको थियो । प्रहरीले शंकास्पद अवस्थामा रहेका उनीहरूको शरीर तथा कोठा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ३७० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ र १६ ग्राम ३८० मिलिग्राम अफिमजस्तो गिलो पदार्थ बरामद गरेको जनाएको छ ।
प्रहरीले लागुऔषध तौल गर्न प्रयोग हुने डिजिटल तराजु समेत बरामद गरेको छ । पक्राउ परेका तीनै जनाविरुद्ध लागूऔषध कसुरमा मुद्दा दर्ता गरी मकवानपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















