मकवानपुरका तीन गाउँपालिकाबाटै करदाता सेवा, बकैयामा पनि प्यान वितरण सुरु

मकवानपुरका तीन वटा गाउँपालिकाबाट अब करदाता सेवा उपलब्ध हुने भएको छ । सोमबार बकैया गाउँपालिकामा सेवा शुभारम्भ भएसँगै जिल्लामा यस्तो सेवा सञ्चालन गर्ने स्थानीय तहको संख्या तीन पुगेको हो । यसअघि मनहरी र बागमती गाउँपालिकाले सेवा सुरु गरिसकेका थिए ।

बकैया गाउँपालिकामा आयोजित कार्यक्रममा व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) जारी गर्ने सेवा औपचारिक रूपमा सुरु गरिएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने ले जानकारी दिए । सेवा सुरु भएसँगै छ जनालाई प्यान कार्डसमेत वितरण गरिएको थियो ।

आन्तरिक राजस्व कार्यालय हेटौँडा र सम्बन्धित गाउँपालिकाबीच यसअघि नै सेवा सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सङ्घीय सरकारले स्थानीय तहबाटै करदाता सेवा उपलब्ध गराउने निर्णय गरेअनुसार मकवानपुरमा पनि गाउँपालिकामार्फत सेवा विस्तार गरिएको हो ।

अब गाउँपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक प्यान नम्बर जारी, आयकर दर्ता तथा प्यानसम्बन्धी संशोधन कार्य गर्न सकिने जनाइएको छ । सेवा सञ्चालनका लागि गाउँपालिकाका कर्मचारीलाई आन्तरिक राजस्व कार्यालय हेटौँडाले तालिम तथा आवश्यक उपकरण उपलब्ध गराएको जनाएको छ ।

स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि करदातालाई सदरमुकाम धाउनुपर्ने बाध्यता कम हुने र छिटोछरितो सेवा पाउने विश्वास व्यक्त गरिएको छ । यसैबीच, आन्तरिक राजस्व कार्यालय हेटौँडाले राक्सिराङ र इन्द्रसरोवर गाउँपालिकामा पनि करदाता सेवा विस्तार गर्ने तयारी अघि बढाएको जनाएको छ ।-गोरखापत्रबाट

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.