काठमाडौं । नेकपा (एमाले) ले काठमाडौंको बल्खुस्थित मदन नगरमा रहेको आफ्नै स्वामित्वको जग्गामा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण प्रक्रिया अघि बढाएको छ । सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै एमालेलाई बल्खुमै आधुनिक भवन निर्माण गर्ने कानुनी बाटो खुलेपछि पार्टीले निर्माण तयारी तीव्र बनाएको हो ।
एमाले नेताहरूका अनुसार १३ रोपनी क्षेत्रफलमा रहेको बल्खुको जग्गामा नयाँ भवन निर्माणका लागि नक्सा तथा डिजाइनको काम सुरु भइसकेको छ । २०७२ सालको भूकम्पले २०५० सालमा बनेको एमाले मुख्यालय भवन ध्वस्त भएपछि पार्टी कार्यालय ११ वर्षदेखि भाडाका भवनबाट सञ्चालन हुँदै आएको छ ।
यसअघि एमालेले बल्खुमै भूकम्पप्रतिरोधी अत्याधुनिक भवन निर्माण गर्ने योजना अघि बढाएको थियो । २०७८ वैशाख ९ गते भवनको शिलान्याससमेत गरिएको थियो । तर, नदी किनारको मापदण्डसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुगेपछि निर्माण कार्य रोकिएको थियो ।
२०८० पुस ३ गते सर्वोच्च अदालतले नदी किनारबाट ३० मिटर छाडेर मात्र संरचना निर्माण गर्न सकिने फैसला गरेपछि एमालेलाई भवन निर्माणमा समस्या परेको थियो । उक्त मापदण्ड लागू गर्दा पास भएको नक्साअनुसार भवन निर्माण सम्भव नहुने अवस्था बनेको थियो ।
पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला मन्त्रालयका तर्फबाट पुनरावलोकन निवेदन दायर गरिएको थियो । त्यसपछि २०८२ माघ ४ गते सर्वोच्च अदालतको इजलासले २०६५ सालकै मापदण्डलाई कायम गर्दै नदी किनारबाट १० मिटर छाडे पुग्ने फैसला गरेको थियो ।
सर्वोच्चको उक्त फैसलाको पूर्णपाठ जेठ ६ गते सार्वजनिक भएपछि एमालेले बल्खुमा पार्टी कार्यालय निर्माणको प्रक्रिया अघि बढाएको जनाएको छ ।
यससँगै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले कीर्तिपुरमा दान दिएको जग्गामा एमाले मुख्यालय बनाउने योजना पनि रोकिएको छ । गुरुङले कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान दिएर अत्याधुनिक पार्टी कार्यालय निर्माण गरिदिने घोषणा गरेका थिए ।
उक्त जग्गामा २०८१ असोज २५ गते एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले संयुक्त रूपमा शिलान्याससमेत गरेका थिए । तर, दानको जग्गा स्वीकार गरेको भन्दै पार्टीभित्र र बाहिर चर्को आलोचना भएको थियो ।
एमाले नेतृ विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालगायतले पार्टी कार्यालय कार्यकर्ताको सहयोगबाट बनाउनुपर्ने धारणा राखेका थिए । त्यसपछि उनीहरूलाई पार्टीविरुद्ध बोलेको भन्दै निलम्बनसमेत गरिएको थियो ।
एमाले स्रोतका अनुसार अब बल्खुमै भवन निर्माण हुने निश्चित भएपछि गुरुङले दान दिएको जग्गा फिर्ता गर्ने तयारी गरिएको छ ।
हाल एमालेको केन्द्रीय कार्यालय ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सञ्चालनमा छ । तर, सरकारी जग्गामा बनेका भवन तेस्रो पक्षलाई भाडामा दिन नपाउने सरकारी निर्णयपछि एमालेले नयाँ स्थान खोजिरहेको जनाएको छ ।
एमाले पार्टी कार्यालय सचिव भीष्म अधिकारीले पार्टी कार्यालयका लागि नयाँ भवन खोजी भइरहेको र आवश्यक परे अस्थायी रूपमा अर्को स्थानमा सर्ने तयारी भइरहेको बताएका छन् ।















