महिला भलिबलको रोमाञ्चक प्रतिस्पर्धा फेरि एकपटक काठमाडौंमा देखिने भएको छ। आजदेखि सुरू हुने काभा महिला भलिबल च्याम्पियनसिपमा घरेलु टोली नेपालसहित ८ राष्ट्र उपाधिका लागि प्रतिस्पर्धामा उत्रँदैछन्।
प्रतियोगितामा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स समूह ‘ए’ मा रहेका छन् भने ईरान, काजखस्तान, श्रीलंका र बंगलादेश समूह ‘बी’ मा छन्। नेपालले आफ्नो पहिलो खेल जेठ ८ गते साविक विजेता भारतविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
नेपाल–भारतबीचको प्रतिस्पर्धालाई प्रतियोगिताकै सबैभन्दा आकर्षक खेलका रूपमा हेरिएको छ। घरेलु समर्थकको साथ, अनुभवी र युवा खेलाडीको मिश्रण तथा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बढेको आत्मविश्वासका कारण नेपाली टोलीप्रति विशेष चासो देखिएको छ।
बिहीबार आयोजित प्रि–म्याच पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान निरुता ठगुन्नाले घरेलु दर्शकको साथ टोलीका लागि ठूलो ऊर्जा बन्ने बताइन्। पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गरिरहेकी उनले टोलीमा अनुभवी र युवा खेलाडीबीच राम्रो समन्वय रहेको उल्लेख गर्दै सकारात्मक सुरुआत गर्ने लक्ष्य रहेको बताइन्।
यस्तै, साविक विजेता भारतकी कप्तान नन्दनाले छोटो तयारी भए पनि टोली उपाधि रक्षा गर्ने लक्ष्यसहित काठमाडौं आएको बताइन्। काजखस्तानकी कप्तान नतालियाले पनि आफ्नो टोली उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने प्रतिक्रिया दिइन्।
नेपालमा पछिल्ला वर्षहरूमा महिला भलिबलप्रति दर्शकको आकर्षण बढ्दो क्रममा रहेकाले यस प्रतियोगितालाई नेपाली महिला भलिबलको लोकप्रियता र सम्भावनाको अर्को परीक्षणका रूपमा समेत हेरिएको छ।















