मकवानपुर । एक्सनएड नेपाल र मकवानपुर महिला उत्थान समाजको सहकार्यमा सञ्चालित ‘समृद्धि परियोजना’ अन्तर्गत मनहरी गाउँपालिका–९ रजैयामा सामुदायिक अभियान सचेतना बजारको पहिलो श्रृंखला सुरु गरिएको छ ।“लैङ्गिक हिंसा अन्त्यका लागि सचेतना घुम्ती बजारः हिंसा सहने होइन, अन्त्य गर्ने हो” भन्ने नारासहित घरेलु हिंसा तथा सार्वजनिक स्थानमा हुने यौन दुर्व्यवहार विरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

जेठ ८ गते आयोजित कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मनहरी गाउँपालिका–९ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको समेत उपस्थिति रहेको थियो ।
सचेतना बजार कार्यक्रममा माइती नेपाल, हिमराइट्स तथा कोक्याप नेपालको समन्वय रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममार्फत समुदायमा लैङ्गिक हिंसा न्यूनीकरण, महिला अधिकार संरक्षण तथा सुरक्षित सामाजिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
















