अष्टलक्ष्मी शाक्य ले केपी शर्मा ओली लाई नेकपा एमालेको नेतृत्वबाट सम्मानपूर्वक बिदा लिन सुझाव दिएकी छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै नेतृ शाक्यले अध्यक्ष ओलीको दम्भ, घमण्ड र गुटगत सोचका कारण पार्टी कमजोर अवस्थामा पुगेको टिप्पणी गरेकी हुन् ।
उनले एमाले कुनै एक व्यक्तिको सम्पत्ति वा गुटको कम्पनी नभएको उल्लेख गर्दै लाखौँ कार्यकर्ताको त्याग, संघर्ष र बलिदानबाट बनेको पार्टीलाई सामूहिक नेतृत्वमार्फत अघि बढाउनुपर्ने बताएकी छन् ।
अध्यक्ष ओलीले तीन कार्यकाल नेतृत्व गरिसकेको स्मरण गराउँदै शाक्यले अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएकी छन् ।
‘सास रहुन्जेल एमालेको अध्यक्ष भइराख्ने सोच गलत हो,’ उनले लेखेकी छन्, ‘यही बैठकबाट सम्मानपूर्वक अध्यक्ष पदबाट बिदा लिनु उपयुक्त हुन्छ ।’
शाक्यले एमालेलाई पुनः आन्दोलनको नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्न सकिने उल्लेख गर्दै अहिले व्यक्तिको गुणगानभन्दा विचार, इमान, संघर्ष र सामूहिकताको राजनीति आवश्यक रहेको बताएकी छन् ।
उनले देश र जनताको हितलाई केन्द्रमा राखेर पार्टी सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै कार्यकर्ताको भावना विपरीत पार्टीलाई बन्धक बनाउन नहुने निष्कर्ष समेत व्यक्त गरेकी छन् ।















