बागमतीमा एचआईभी संक्रमण घट्दै, तर कलंक र ढिलो परीक्षण अझै चुनौती

हेटौँडा । बागमती प्रदेशमा एचआईभी संक्रमण दर केही घट्दो देखिए पनि संक्रमण नियन्त्रण र व्यवस्थापन अझै चुनौतीपूर्ण बनेको छ । सामाजिक कलंक, ढिलो परीक्षण, उपचारमा निरन्तरताको अभाव तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच कमजोर हुँदा लक्ष्यअनुसारको प्रगति हुन नसकेको सरोकारवालाहरूले बताएका छन् ।

स्वास्थ्य निर्देशनालय, हेटौँडाका अनुसार नेपालभर हाल अनुमानित ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमित रहेका छन् । वयस्क जनसंख्यामा संक्रमण दर ०.१३ प्रतिशत रहेको छ भने दैनिक औसत १.७ जना नयाँ संक्रमित थपिने गरेका छन् ।

बागमती प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा ८ सय ८३ जनामा संक्रमण पुष्टि भएको थियो । यो संख्या २०८०/८१ मा घटेर २ सय ८ पुगेको थियो । चालु आर्थिक वर्ष २०८१/८२ मा भने पुनः ७ सय २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशभर हाल १८ वटा एआरटी सेवा केन्द्र, ६ वटा ओएसटी सेवा केन्द्र तथा काठमाडौं र चितवनमा दुई वटा भाइरल लोड परीक्षण केन्द्र सञ्चालनमा रहेका छन् । मकवानपुरमा एक एआरटी केन्द्र र एक ईआईडी संकलन केन्द्र सञ्चालनमा रहेको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा ‘९५–९५–९५’ लक्ष्य हासिल गर्ने अभियान जारी रहे पनि अझै सबै संक्रमित पहिचान र भाइरल लोड नियन्त्रणमा चुनौती रहेको छ । अनुमानित ८ हजार ३ सय २८ संक्रमितमध्ये ७ हजार १ सय ७४ जनाले मात्रै आफ्नो स्वास्थ्य अवस्था थाहा पाएका छन् । त्यसमध्ये ७ हजार १ सय ४ जना उपचारमा आबद्ध छन् भने ६ हजार ७० जनाको भाइरल लोड दबिएको अवस्था रहेको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा आमाबाट बच्चामा संक्रमण रोकथाम कार्यक्रम अन्तर्गत बागमती प्रदेशमा १ लाख १९ हजार ६ सय १७ जनालाई परामर्श सेवा दिइएको थियो । ९४ हजार ९ सय ९२ जनामा परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

मकवानपुरमा मात्रै ७ हजार ६ सय ९८ जनालाई परामर्श सेवा र ६ हजार ३७ जनामा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा दुई गर्भवती महिलामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

त्यस्तै एचआईभी परीक्षण तथा परामर्श सेवा अन्तर्गत चालु आर्थिक वर्षमा बागमती प्रदेशभर २१ हजार २ सय २९ जनामा परीक्षण गर्दा ७ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । मकवानपुरमा ९ हजार ५ सय ५९ जनामा परीक्षण गर्दा गर्भवती महिलासहित ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सोमबार हेटौँडामा स्वास्थ्य निर्देशनालय बागमती प्रदेश र एएचएफ नेपालको सहकार्यमा सञ्चारकर्मीहरूका लागि एचआईभी सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झाको अध्यक्षतामा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा एएचएफ नेपालका वरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले एचआईभी सम्बन्धी समाचार सम्प्रेषण गर्दा संवेदनशीलता र तथ्यमा आधारित प्रस्तुति आवश्यक रहेको बताउनुभयो । उहाँले जनचेतना अभिवृद्धि र प्रभावकारी पैरवीका लागि जिम्मेवार सञ्चारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

उहाँका अनुसार एएचएफ विश्वकै ठूलो एचआईभी तथा एड्स स्वास्थ्य सेवा प्रदायक संस्था हो, जसले हाल ५० देशमा ३० लाखभन्दा बढी मानिसलाई सेवा दिइरहेको छ । नेपालमा सन् २००८ मा स्थापना भएको एएचएफ नेपालले सन् २००९ देखि राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रसँग सहकार्य गर्दै सेवा सञ्चालन गर्दै आएको जनाएको छ ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक सन्जु रोईले बागमती प्रदेशमा करिब ७ हजार ४ सय जनामा एचआईभी संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार तराईका सीमा क्षेत्र, काठमाडौं र पोखरा संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रका रूपमा चिनिएका छन् ।

निर्देशनालयले हाल लागूऔषध प्रयोगकर्ताका लागि प्रतिस्थापन उपचार सेवा, एचआईभी परीक्षण तथा परामर्श सेवा सञ्चालन गरिरहेको जनाएको छ । सन् २०२६ सम्म ‘९५–९५–९५’ लक्ष्य हासिल गर्ने योजना रहे पनि हाल प्रदेशका ८६ प्रतिशत संक्रमितले मात्रै आफ्नो अवस्था थाहा पाएका छन् । संक्रमितमध्ये ९७ प्रतिशत उपचारमा आबद्ध भए पनि उपचारमा रहेका मध्ये ८५ प्रतिशतको मात्रै भाइरल लोड नियन्त्रणमा आएको तथ्यांक प्रस्तुत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.