हेटौँडामा अल नेपाल ओपन यू–२२ बक्सिङ प्रतियोगिता सुरु

मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा हेटौँडामा अल नेपाल ओपन यू–२२ बक्सिङ प्रतियोगिता सुरु भएको छ। बुधबार हेटौँडा–४ स्थित कभर्डहलमा आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले प्रतियोगिताको उद्घाटन गरेकी हुन्।

शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा १९ वर्षमुनि र १९ देखि २२ वर्ष उमेर समूहका खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ। पुरुषतर्फ ५०, ५५, ६०, ६५, ७० र ७५ केजी तथा महिलातर्फ ५०, ५५ र ६० केजी तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा आयोजकसहित २८ टोलीको सहभागिता रहेको छ। प्रत्येक तौल समूहका विजेताले नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिता सञ्चालनका लागि बागमती खेलकुद विकास परिषद्ले सहयोग गरेको छ भने हेटौँडा स्कुल अफ म्यानेजमेन्ट प्रायोजक रहेको छ।

प्रतियोगितामा मकवानपुरसहित काठमाडौं, कास्की, झापा, कैलाली, कञ्चनपुर, रुपन्देही, नुवाकोट, धनकुटालगायत जिल्लाका बक्सिङ क्लब तथा संघहरूको सहभागिता रहेको छ।

उद्घाटन कार्यक्रममा मेयर लामाले खेलकुद विकासका लागि उपमहानगरपालिकाले भौतिक पूर्वाधार निर्माण र खेल गतिविधिलाई प्राथमिकतामा राख्दै आएको बताइन्। मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष सुविन घिमिरेले नयाँ खेलाडी उत्पादन र बक्सिङ खेलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.