हेटौँडामा जारी १६औँ बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर्गत उसु प्रतियोगितामा मकवानपुरका लागि युना पुलामी मगरले एक्लै पदक दिलाएकी छन्। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सम्पन्न प्रतियोगितामा युनाले छात्रा सान्शोउ ४८ केजी तौल समूहमा तृतीय स्थान हासिल गर्दै काँश्य पदक जितेकी हुन्।
मकवानपुरबाट सहभागी १२ खेलाडीमध्ये युना मात्रै पदक जित्न सफल भइन्। अन्य ११ खेलाडी भने पदकविहीन बनेका थिए। बागमती गाउँपालिका–६ निवासी युनाको सफलताले मकवानपुरको पदक आशा जोगाएको प्रशिक्षक जयराम रथाल मगरले बताए।
यस वर्ष उसु प्रतियोगितामा नयाँ खेलाडीहरूको सहभागिता बढी भएकाले अपेक्षित नतिजा हासिल गर्न चुनौती भएको प्रशिक्षक मगरको भनाइ छ। प्रतियोगितामा मकवानपुर टोलीबाट बागमती गाउँपालिकाका खेलाडीहरूको बाहुल्य रहेको थियो भने हेटौँडाका खेलाडीहरूको पनि सहभागिता रहेको थियो।
उसु टोलीसँग निर्णायकको रूपमा विश्वनाथ तथा टिम म्यानेजरका रूपमा आयुष लामा, लिज्जा प्रजा र रितिका खतिवडा सहभागी भएका थिए। युनाको काँश्य पदकले मकवानपुरको उसु टोलीलाई प्रदेशस्तरीय प्रतियोगितामा सम्मानजनक उपस्थिति दिलाएको छ।















