आगामी आर्थिक वर्षको बजेटमार्फत सुनमा लगाइएको भन्सार महसुल वृद्धि भएपछि सुनचाँदी बजारमा त्यसको प्रत्यक्ष प्रभाव देखिएको छ। आइतबार सुन र चाँदी दुवैको मूल्यमा एकैदिन उल्लेख्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ। त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३०५ रुपैयाँले वृद्धि हुँदै ५ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सार दर १० प्रतिशतले बढाउने व्यवस्था गरेका थिए। सोही निर्णयपछि बजारमा सुनको मूल्यमा तीव्र वृद्धि देखिएको व्यवसायीहरू बताउँछन्।
भन्सार दर वृद्धिका कारण आयात लागत बढ्ने भएकाले आगामी दिनमा पनि सुनचाँदीको मूल्य उच्च रहन सक्ने अनुमान गरिएको छ। सुनको मूल्यमा आएको यो वृद्धि पछिल्ला वर्षहरूकै ठूलो दैनिक वृद्धिमध्ये एक मानिएको छ।















