हेटौंडा । मकवानपुर प्रहरीले विभिन्न स्थानमा गरेको चेकजाँच तथा खानतलासीका क्रममा लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट खैरो हिरोइनजस्तो देखिने पदार्थ, चरेस, गाँजा र ट्रामाडोल बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार बारा कलैया उपमहानगरपालिका–१४ का २० वर्षीय राजन जैसवाल, बारा निजगढ नगरपालिका–९ का २१ वर्षीय सजुक साह र रौतहट बौधीमाई नगरपालिका–२ का १९ वर्षीय रोहित पटेलको साथबाट ३४ ग्राम ९७० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको छ।
यस्तै, भारतबाट घर फर्किएका हेटौंडा उपमहानगरपालिका–७ का २३ वर्षीय आकाश कुमार, सोही स्थानका २० वर्षीय राज अधिकारी, हेटौंडा–११ का २३ वर्षीय राजा बाबु शर्मा र बकैया गाउँपालिका–४ का २४ वर्षीय समिर स्याडतानको साथबाट ११ ग्राम २७० मिलिग्राम गाँजा र ट्रामाडोल दुई क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ।
यसैगरी हेटौंडा उपमहानगरपालिका–१ का ४४ वर्षीय सहबद अन्सारी, ३० वर्षीय कालुसाम गिरी, २९ वर्षीय मनोज महर्जन र हेटौंडा–१७ का ३६ वर्षीय रामचन्द्र मोक्तानको साथबाट २२० मिलिग्राम खैरो हिरोइनजस्तो पदार्थ फेला परेको छ।
त्यसैगरी हेटौंडा उपमहानगरपालिका–८ की २३ वर्षीया अनुष्का क्षेत्री र चितवन भरतपुर महानगरपालिका–८ का २६ वर्षीय करण स्याडतानको साथबाट २६० मिलिग्राम चरेसजस्तो पदार्थ तथा एक ग्राम ५८० मिलिग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैमाथि लागूऔषध सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।















