नेपाल र भारतबीच व्यक्तिगत रूपमा रकम पठाउने तथा प्राप्त गर्ने प्रक्रिया अब थप सहज बनेको छ। नेपालका केही वाणिज्य बैंकहरूले अनलाइन माध्यमबाट सीमापार रकम स्थानान्तरण (क्रसबोर्डर फन्ड ट्रान्सफर) सेवा सञ्चालनमा ल्याएका छन्।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का अनुसार हाल केही प्रमुख वाणिज्य बैंकमार्फत ग्राहकले मोबाइल बैंकिङ एप वा कनेक्ट आईपीएस प्रयोग गरेर सिधै भारतमा रकम पठाउन सक्ने व्यवस्था गरिएको छ। यो सेवामा बैंक खाता नम्बर वा मोबाइल नम्बरमा आधारित भर्चुअल पेमेन्ट एड्रेस प्रयोग गरी कारोबार गर्न सकिनेछ।
एनसीएचएलले सेवा परीक्षण सफल भएपछि विस्तारको तयारी गरिरहेको जनाएको छ। हाल सीमित बैंकहरूमा उपलब्ध यो सुविधा आगामी दिनमा अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरूमा समेत विस्तार गरिने योजना छ।
यसैबीच, नबिल बैंकले ‘एन बैंक’ मोबाइल एपमार्फत नेपाल–भारत–नेपाल रियल टाइम पर्सन–टु–पर्सन (P2P) रेमिटेन्स सेवा सुरु भएको घोषणा गरेको छ। यस सुविधामार्फत नबिल बैंकका ग्राहकले भारतमा रहेका आफन्त वा साथीभाइलाई तत्काल रकम पठाउन सक्नेछन् भने भारतबाट पनि नेपालस्थित नबिल बैंक खातामा रकम पठाउन सकिनेछ।
सेवाअन्तर्गत नेपालबाट भारत रकम पठाउँदा दैनिक १५ हजार भारतीय रुपैयाँ र मासिक एक लाख भारतीय रुपैयाँसम्मको सीमा तोकिएको छ। भारतबाट नेपाल रकम पठाउँदा दैनिक दुई लाख भारतीय रुपैयाँसम्म कारोबार गर्न सकिनेछ भने मासिक सीमा निर्धारण गरिएको छैन।
एनसीएचएलले यसबारे औपचारिक घोषणा केही दिनभित्र गर्ने तयारी गरिरहेको जनाएको छ। नयाँ व्यवस्थासँगै नेपाल–भारतबीचको व्यक्तिगत डिजिटल भुक्तानी र रेमिटेन्स कारोबार थप सहज, छिटो र सुरक्षित हुने अपेक्षा गरिएको छ।
























