एक सातापछि नेपालमा मनसुन भित्रिने, अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षाको सम्भावना

नेपालमा यस वर्षको मनसुन आगमन सामान्य समयभन्दा केही ढिलो हुने भएको छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका प्राध्यापक दीपक अर्यालका अनुसार मनसुन जुन १५ देखि १७ तारिखभित्र नेपाल प्रवेश गर्ने अनुमान गरिएको छ।

बंगालको खाडीमा मौसमी प्रणाली विकास हुन ढिलाइ भएका कारण मनसुनको आगमन पनि पछाडि सरेको उहाँले बताउनुभयो। मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसमी पूर्वानुमानअनुसार यस वर्ष मनसुन अवधिमा देशका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको छ।

प्राध्यापक अर्यालका अनुसार प्रि–मनसुन अवधिमा अपेक्षाभन्दा बढी वर्षा भए पनि मुख्य मनसुन सिजनमा भने पानी कम पर्न सक्ने संकेत देखिएको छ। समुद्री सतहको तापक्रम अस्वाभाविक रूपमा बढ्नु तथा अन्य मौसमी कारकहरूका कारण वर्षा औसतभन्दा कम हुन सक्ने अनुमान गरिएको हो। यद्यपि मनसुनको मध्य तथा अन्तिम चरणमा भने राम्रो वर्षा हुन सक्ने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो।

विभागले कर्णालीका दक्षिणी क्षेत्र, लुम्बिनीका अधिकांश भूभाग, मधेसका पूर्वी क्षेत्र तथा कोशी प्रदेशका दक्षिणी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको जनाएको छ। यस्तै सुदूरपश्चिमका अधिकांश भूभाग, मधेसका पश्चिमी क्षेत्र र कोशीका मध्य भागमा पनि कम वर्षाको सम्भावना देखिएको छ।

मनसुन अवधिमा वर्षासँगै तापक्रम पनि औसतभन्दा बढी रहने अनुमान गरिएको छ। देशका विभिन्न क्षेत्रमा अधिकतम तथा न्यूनतम तापक्रम सामान्यभन्दा माथि रहने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको विभागको प्रक्षेपण छ।

नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकाले मनसुनको अवस्था उत्पादन र आर्थिक वृद्धिदरमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने विज्ञहरूको भनाइ छ। जुनदेखि सेप्टेम्बरसम्मको चार महिनाको अवधिमा वार्षिक कुल वर्षाको करिब ८० प्रतिशत वर्षा हुने भएकाले यस वर्षको मनसुनलाई विशेष चासोका साथ हेरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.