लामो समयदेखि बक्यौता रकम नपाउँदा दबाबमा रहेका स्वास्थ्य संस्थाहरूलाई राहत मिल्न थालेको छ। सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत रोकिएको रकम भुक्तानीलाई तीव्रता दिँदै पछिल्लो एक सातामै १ अर्ब ३ करोड रुपैयाँभन्दा बढी निकासा गरेको छ।
स्वास्थ्य बीमा बोर्डका अनुसार उक्त रकम १५५ सरकारी, २५ सामुदायिक र ३७ निजी गरी देशभरका २१७ अस्पतालको खातामा पठाइएको छ। यससँगै विगतदेखि थाँती रहेको बीमा दाबी भुक्तानी क्रमशः फर्छ्योट हुन थालेको छ।
बोर्डले दुई दिनअघि मात्रै विपन्न नागरिकको उपचार खर्च शोधभर्नाबापत ३२ करोड ६ लाख रुपैयाँभन्दा बढी रकम निकासा गरेको जनाएको छ। यसअघि सरकारी अस्पताललाई प्राथमिकता दिइँदै आएकोमा यसपटक निजी स्वास्थ्य संस्थाहरूको बक्यौता समेत भुक्तानी गरिएको बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवन शाहले जानकारी दिनुभयो।
भुक्तानी प्राप्त गर्ने संस्थाहरूमा मध्यविन्दु जिल्ला अस्पताल, भेरी अस्पताल, नारायणी अस्पताल, नेपाल मणिपाल शिक्षण अस्पताल, त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत रहेका छन्। निजी क्षेत्रतर्फ झापाको बिएन्डसी शिक्षण अस्पतालले पनि बीमा रकम प्राप्त गरेको छ।
सरकारले निकासा गरेको रकम मुख्यतः विपन्न वर्गका नागरिकले लिएका डायलाइसिस, मुटुरोग, हेड इन्जुरी र स्पाइनल इन्जुरीजस्ता जटिल रोगहरूको उपचार खर्च शोधभर्नाका लागि प्रयोग हुने जनाइएको छ। आवश्यक प्रक्रिया र कागजात पूरा भएका दाबीहरूलाई प्राथमिकतामा राखेर रकम वितरण गरिएको बोर्डले जनाएको छ।
स्वास्थ्य बीमा कार्यक्रमलाई आर्थिक संकटबाट जोगाउन सरकारले चालु आर्थिक वर्षका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। साथै अनावश्यक खर्च नियन्त्रण, सेवा प्रवाहमा पारदर्शिता र औषधि तथा उपकरण खरिदमा निगरानी बढाउने तयारी पनि गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता ले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तर र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै बाँकी बक्यौता रकम पनि चरणबद्ध रूपमा भुक्तानी गरिने स्पष्ट पारिन्।
























