हेटौंडा । मकवानपुरको हेटौंडामा ‘मेयर कप २०८२/८३’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। पदमपोखरी युथ क्लबको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको मुख्य प्रायोजनमा असार ५ गतेदेखि १२ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने भएको हो।
पदमपोखरी रंगशालामा हुने प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका टोलीको सहभागिता रहने आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। प्रतियोगितामा वडा नम्बर १३ कार्यालय सह–प्रायोजकको रूपमा रहेको छ भने नगर खेलकुद विकास समिति, एन्फा मकवानपुर र वडा नम्बर १३ खेलकुद विकास समितिले सहकार्य गर्नेछन्।
प्रतियोगिताको विजेता टोलीले दुई लाख रुपैयाँ तथा उपविजेता टोलीले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ‘प्लेयर अफ द सिरिज’ वापत २५ हजार रुपैयाँ प्रदान गरिनेछ।
विभिन्न विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई पनि नगदसहित सम्मान गरिने वडा खेलकुद विकास समिति अध्यक्ष अमृत लुङ्बाले जानकारी दिए।
प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। त्यसमध्ये १० लाख रुपैयाँ हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराउने जनाइएको छ।
आयोजकका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा फुटबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभाको पहिचान र उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
























