रास्वपा बागमतीको पहिलो प्रदेश अधिवेशन मंगलबार हुँदै, १,५०० प्रतिनिधि सहभागी हुने

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको पहिलो प्रदेश अधिवेशन मंगलबार हेटौँडामा हुने भएको छ। हेटौँडा–१ स्थित हिमालयन दरबारमा आयोजना हुने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ।

रास्वपा बागमती प्रदेश सभापति तथा प्रतिनिधिसभा सदस्य डा. अच्युत्तम लामिछानेका अनुसार प्रदेशका १३ वटै जिल्लाबाट छनोट भएका करिब एक हजार ५०० प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन्। जिल्ला, पालिका र वडा तहबाट चयन भएका प्रतिनिधिहरू हेटौँडा आउने क्रम सुरु भइसकेको उनले बताए।

प्रदेश राजधानी हेटौँडामै पहिलो प्रदेश अधिवेशन आयोजना गर्न लागिएकाले पार्टीको विचार, सिद्धान्त र संगठनात्मक सन्देश जनस्तरसम्म पुर्‍याउन सहज हुने उनको भनाइ छ।

उनका अनुसार बागमती प्रदेशका एक हजार १२१ वडामध्ये करिब ९०० वडामा अधिवेशन सम्पन्न भइसकेको छ भने ११९ वटै पालिकामा पार्टीको संगठन विस्तार भइसकेको छ। अधिवेशनमा पार्टी सभापति रवि लामिछानेसहित केन्द्रीय नेतृत्वको उपस्थिति रहने जनाइएको छ।

अधिवेशनबाट रास्वपा बागमती प्रदेशको नयाँ नेतृत्व चयन गरिनेछ। नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास गरिने भए पनि आवश्यक परे निर्वाचन प्रक्रियामार्फत पदाधिकारी चयन गरिने प्रदेश सभापति लामिछानेले बताए।

रास्वपाले अधिवेशन सञ्चालनका लागि प्रतिनिधिबाट जनही एक हजार ५०० रुपैयाँ शुल्क संकलन गर्ने व्यवस्था गरेको छ। सोही रकमबाट मितव्ययी र प्रतिनिधिमूलक ढंगले अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको जनाइएको छ।

अधिवेशनमा सर्वसाधारणका लागि खुला सभा नरहे पनि प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुक गरी करिब चार हजार जनासम्मको उपस्थिति रहने अनुमान गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.