विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम आयोजना हुँदै

हेटौंडा, मकवानपुर । “रक्तदान, जीवनदान” भन्ने मूल मर्म र नारालाई आत्मसात् गर्दै विश्व रक्तदाता दिवसको अवसरमा यही जेठ ३१ गते हेटौंडाको बुद्धचोकमा बृहत् खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

बिहान ७ बजेबाट सुरु हुने उक्त कार्यक्रम खड्का समाज मकवानपुर र रक्तदाता समाज मकवानपुरको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी (रक्त संचार केन्द्र) मकवानपुरको सहकार्यमा हुन लागेको हो। कार्यक्रमको जानकारी दिँदै खड्का समाज मकवानपुरका अध्यक्ष दिपक खड्काले सम्पूर्ण खड्का बन्धु तथा आम नागरिकलाई रक्तदान कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।

उनले रक्तदान मानवताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै रक्त अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। साथै उनले कार्यक्रमबारे व्यापक रूपमा जानकारी फैलाइदिन समेत सबैमा अनुरोध गरेका छन्।

यसैगरी, रक्तदाता समाज मकवानपुरका अध्यक्ष पूर्णप्रसाद अर्यालले विश्व रक्तदाता दिवसको शुभकामना व्यक्त गर्दै बुद्धचोकमा आयोजना हुने खुला रक्तदान कार्यक्रममा सक्रिय सहभागिता जनाउन सम्पूर्ण मकवानपुरवासीलाई आह्वान गरेका छन्। उनले नियमित रक्तदानले बिरामी, दुर्घटनाग्रस्त तथा आकस्मिक उपचार आवश्यक परेका व्यक्तिहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रमको तयारीबारे जानकारी दिँदै रक्त संचार केन्द्रका प्रमुख टङ्क दाहालले सम्पूर्ण तयारी पूरा भइसकेको बताए। उनले रक्तदान कार्यक्रममा सहभागी हुने रक्तदाताहरूलाई खादा र प्रमाणपत्र प्रदान गरी सम्मान गरिने जानकारी दिए। रक्तदान केवल सामाजिक उत्तरदायित्व मात्र नभई मानव जीवन बचाउने पवित्र अभियान भएकाले सबैले उत्साहपूर्वक सहभागिता जनाउन उनले आग्रह गरे ।

रक्तदानमा सहभागी हुन आयोजकले नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, विभिन्न राजनीतिक दल तथा तिनका भ्रातृ संगठन, सामाजिक संघ–संस्था, व्यवसायी, कर्मचारी तथा सर्वसाधारण नागरिकहरू लाई आग्रह गरेको छ । रक्त अभावको समस्यालाई न्यूनीकरण गर्दै मानव सेवाको भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमले समाजमा रक्तदानप्रतिको सकारात्मक चेतना अभिवृद्धि गर्ने विश्वास लिइएको छ।

विश्व रक्तदाता दिवसको अवसरमा आयोजना हुन लागेको यस बृहत् रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न तथा अरूलाई पनि प्रेरित गर्न आयोजक संस्थाहरूले सम्पूर्ण नागरिकमा हार्दिक अनुरोध गरेका छन्। एक व्यक्तिले गरेको रक्तदानले धेरैको जीवन बचाउन सक्ने भएकाले “रक्तदान गरौं, जीवन बचाऔं” भन्ने सन्देशलाई व्यवहारमा उतार्न सबैलाई आह्वान गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.