रास्वपा बागमती सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको नयाँ सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित भएका छन्। शनिबार सम्पन्न प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनमा उनले निवर्तमान सभापति डा. अच्युतम लामिछानेलाई अत्यन्तै झिनो मतान्तरले पराजित गर्दै नेतृत्व हात पारेका हुन्।

निर्वाचनको अन्तिम मतपरिणामअनुसार अर्यालले ४१६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी डा. लामिछानेले ४१४ मत प्राप्त गरे। केवल दुई मतको अन्तरले प्राप्त जितले प्रदेश नेतृत्वको प्रतिस्पर्धा निकै रोचक बनेको थियो।

प्रदेश सभापति पदका लागि प्रारम्भिक रूपमा पाँच जनाले उम्मेदवारी दिएका थिए। तर सांसद बदन भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चार जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए।

सभापति पदका लागि निवर्तमान सभापति डा. अच्युतम लामिछाने (नुवाकोट), निवर्तमान प्रदेश प्रवक्ता उत्सव अर्याल (मकवानपुर), कृष्णमान श्रेष्ठ (धादिङ) र हरिबहादुर खत्री (रामेछाप) बीच प्रतिस्पर्धा भएको थियो। मतगणनाको अन्तिम परिणाममा अर्याल विजयी बनेका हुन्।

रास्वपाका केन्द्रीय संगठन विभाग उपप्रमुख कृष्णमान श्रेष्ठका अनुसार सभापति पदको परिणाम सार्वजनिक भए पनि अन्य पदाधिकारी तथा सदस्यहरूको चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया जारी रहेको छ। प्रदेश कार्यसमितिका बाँकी पदहरूको नतिजा भने मतदान सम्पन्न भएपछि सार्वजनिक गरिने जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.