हेटौंडा । विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडा–४ स्थित बुद्धचोकमा बृहत् खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। खड्का समाज मकवानपुर र नेपाल स्वयंसेवी रक्तदाता समाज हेटौंडाको संयुक्त आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र मकवानपुरको सहकार्यमा आयोजित कार्यक्रममा ४० भन्दा बढी युनिट रगत संकलन गरिएको आयोजकले जनाएको छ।
“रक्तदान, जीवनदान” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो। रक्तदाताहरूले स्वेच्छाले रक्तदान गर्दै मानव जीवन बचाउने अभियानमा योगदान पुर्याएका थिए।
कार्यक्रमको उद्घाटन खड्का समाज मकवानपुरका अध्यक्ष दिपक खड्का, नेपाल स्वयंसेवी रक्तदाता समाज हेटौंडाका अध्यक्ष पूर्णप्रसाद अर्याल तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र मकवानपुरका प्रमुख टङ्क दाहाललगायतले संयुक्त रूपमा गरेका थिए। उद्घाटन समारोहमा वक्ताहरूले रक्तदानलाई मानवताको उत्कृष्ट सेवामध्ये एक भएको उल्लेख गर्दै नियमित रक्तदानको संस्कृतिलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए।
उनीहरूले मकवानपुरमा बेला–बेलामा देखिने रगत अभावको समस्या समाधानका लागि यस्ता अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे। साथै आवश्यक परेको अवस्थामा निःशुल्क रूपमा रगत उपलब्ध गराउन सहयोग गर्ने निर्णयसमेत गरिएको जानकारी दिइयो।
कार्यक्रममा सहभागी रक्तदाताहरूलाई प्रमाणपत्र तथा खादा प्रदान गरिएको थियो। विभिन्न सामाजिक संघसंस्था, व्यवसायी, कर्मचारी, युवा, विद्यार्थी तथा सर्वसाधारण नागरिकको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा खड्का समाज मकवानपुरका महासचिव सुनिल खड्काले सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।
आयोजकका अनुसार उक्त कार्यक्रमले रक्तदानप्रतिको सकारात्मक सन्देश फैलाउनुका साथै रगत अभाव न्यूनीकरण गर्ने अभियानमा महत्वपूर्ण योगदान पुर्याएको छ।
























