मकवानपुरगढी । मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु मिनिपिचमा आयोजित फुट्सल रनिङशील प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सुरु भएको छ। खेलकुद समिति मकवानपुरगढी–३ को आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पहिलो दिन ८ खेल सम्पन्न भएका छन्।
प्रतियोगिताको उद्घाटन मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले गरेका थिए। उद्घाटन समारोहमा वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरेको विशेष आतिथ्यता रहेको थियो भने खेलकुद समितिका अध्यक्ष अष्टमान थोकरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
पहिलो दिनको खेलमा आयोजक वडा नम्बर ३ ‘ए’ ले देवीडाँडा युवा क्लबलाई ६–१ गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गर्यो। वडा नम्बर २ खेलकुद विकास समितिले प्रतिभा युवा क्लब ‘बी’ माथि ६–४ को जित निकाल्दा प्रतिभा युवा क्लब ‘ए’ ले स्यार्गे गुम्बालाई ५–१ गोलले हरायो।
त्यसैगरी कालीखोला स्पोर्ट्स क्लबले वडा नम्बर ३ ‘बी’ लाई ९–२ गोलको फराकिलो अन्तरले पराजित गर्यो। अर्को खेलमा देवीडाँडा युवा क्लबले स्यार्गे गुम्बामाथि ३–२ गोलको कठिन जित निकाल्यो भने वडा नम्बर २ खेलकुद विकास समितिले आयोजक वडा नम्बर ३ ‘बी’ लाई ७–४ गोलले हरायो।
प्रतिभा युवा क्लब ‘बी’ ले कालीखोला स्पोर्ट्स क्लबलाई ७–२ गोल अन्तरले पराजित गर्दा दिनको अन्तिम तथा सर्वाधिक रोमाञ्चक खेलमा आयोजक वडा नम्बर ३ ‘ए’ र प्रतिभा युवा क्लब ‘ए’ बीच ४–४ गोलको बराबरी भएको थियो।
आयोजकका अनुसार प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ। आइतबार नै बाँकी लिग चरणका खेल, सेमिफाइनल तथा फाइनल खेल सम्पन्न गरिने कार्यक्रम रहेको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष स्याङतानले खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाले निरन्तर लगानी र प्रोत्साहन गर्दै आएको बताए। युवाहरूलाई खेलकुद गतिविधिमा आकर्षित गर्न तथा प्रतियोगितालाई थप व्यवस्थित बनाउन आगामी वर्षहरूमा पनि आवश्यक बजेट विनियोजन गरिने उनको भनाइ थियो।
प्रतियोगिताको विजेता टोलीले ७५ हजार रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधामा विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाले २ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।
























