मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विपन्न परिवारका लागि १ हजार आवास भवन निर्माण गरी हस्तान्तरण गर्ने कार्यक्रम अघि सारेको छ।
सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले विपन्न परिवारको सुरक्षित आवास सुनिश्चित गर्न उक्त कार्यक्रमका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए।
प्रदेश सरकारले प्रशासनिक पूर्वाधार सुदृढीकरणलाई समेत प्राथमिकतामा राख्दै विभिन्न प्रशासनिक भवन निर्माणका लागि ५६ करोड ५० लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ।
त्यस्तै, प्रदेशस्तरीय विकास तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिने मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री तामाङले बताए।
प्रदेश सरकारले सामाजिक सुरक्षा, आवास तथा पूर्वाधार विकासलाई लक्षित गर्दै आगामी वर्षका कार्यक्रम तथा बजेट अघि सारेको जनाएको छ।























