काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल–मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको नयाँ मूल्य निर्धारण गरेको हो।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाइएको छ। यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धन (काठमाडौंका लागि) प्रति किलोलिटर २६५ अमेरिकी डलरले मूल्य घटाइएको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रति सिलिन्डर १०० रुपैयाँले घटाइएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ र डिजेल–मट्टितेल प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ। त्यसैगरी, एलपी ग्यासको आधा सिलिन्डरको मूल्य एक हजार ३० रुपैयाँ र पूरा सिलिन्डरको मूल्य दुई हजार ६० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।
मूल्य घटेसँगै पेट्रोलियम पदार्थ प्रयोग गर्ने सर्वसाधारण र यातायात क्षेत्रलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
























