काठमाडौं । उच्च शिक्षाको शैक्षिक प्रणालीलाई थप व्यवस्थित, समयबद्ध र प्रभावकारी बनाउन सरकारले परिमार्जित राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयनमा ल्याएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत राष्ट्रिय शैक्षिक क्यालेन्डर स्वीकृत गरेपछि विश्वविद्यालय अनुदान आयोगले देशभरका विश्वविद्यालयमा यसको कार्यान्वयन प्रक्रिया अघि बढाएको हो।
आयोगका अनुसार अब विश्वविद्यालयहरूमा भर्ना, नियमित अध्यापन, परीक्षा सञ्चालन, नतिजा प्रकाशन तथा अन्य शैक्षिक गतिविधि एउटै समयतालिकाअनुसार सञ्चालन हुनेछन्। यसले उच्च शिक्षामा देखिँदै आएको ढिलासुस्ती कम गर्दै शैक्षिक प्रणालीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
सरकारको शासकीय सुधारसम्बन्धी सयदिने कार्ययोजनाअन्तर्गत स्नातक र स्नातकोत्तर तहको परीक्षा तथा नतिजालाई निर्धारित शैक्षिक क्यालेन्डरअनुसार सञ्चालन गर्ने लक्ष्य राखिएको थियो। सोही लक्ष्यअनुसार परिमार्जित क्यालेन्डर कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
विश्वविद्यालय अनुदान आयोगका उपनिर्देशक रमेशप्रसाद अधिकारीका अनुसार नयाँ क्यालेन्डर लागू भएसँगै सबै विश्वविद्यालयले निर्धारित समयसीमाभित्र शैक्षिक गतिविधि सम्पन्न गर्नुपर्नेछ।
यसअघि २०८० सालमा स्वीकृत क्यालेन्डरलाई समयानुकूल बनाउन आयोगले परिमार्जन समिति गठन गरेको थियो। समितिको सिफारिसका आधारमा संशोधन गरिएको क्यालेन्डर मन्त्रालयबाट स्वीकृत भएपछि अब सबै विश्वविद्यालयमा कार्यान्वयनका लागि परिपत्र गरिने भएको छ।
आयोगले विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० बमोजिम क्यालेन्डर कार्यान्वयन गरिने जनाएको छ।
























