काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश प्रतिगामी र फाँसीवादी बाटोमा जान नसक्ने बताएका छन्। उनले लोकतान्त्रिक मूल्य–मान्यता र संविधानविपरीतका प्रवृत्तिविरुद्ध सहकार्य गर्न सक्ने सबै शक्तिबीच कार्यगत एकता आवश्यक रहेको धारणा राखेका छन्।
बुधबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले एमालेका लागि पार्टी एकीकरणभन्दा संगठन विस्तार र सुदृढीकरण प्राथमिकता भएको बताए।
‘एमाले देशव्यापी संगठन, स्पष्ट नीति र उद्देश्य बोकेको पार्टी भएकाले अहिले एकीकरणको चरणमा छैन,’ उनले भने, ‘तर एमालेको विचार र नीति स्वीकार गरेर आउन चाहने सबैका लागि पार्टीको ढोका खुला छ।’
अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले देशको विकास र जनताको हितमा ऐतिहासिक तथा दीर्घकालीन महत्वका काम गरेको दाबी पनि गरे। उनले पार्टीका नेता–कार्यकर्तालाई आत्मविश्वासका साथ जनतामाझ पुगेर भ्रम चिर्न आग्रह गरे।
उनले गत वर्ष भदौ २३–२४ गते भएको घटनालाई पार्टीको कमजोरी नभई योजनाबद्ध षड्यन्त्रको परिणाम भएको दाबी गर्दै त्यसबेला सुरक्षा संयन्त्र प्रभावकारी रूपमा परिचालन हुन नसकेको टिप्पणी गरे।
कार्यक्रममा एमालेका उपाध्यक्ष तथा निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेललगायत नेताहरूको उपस्थिति रहेको थियो।
























