हेटौंडामा शनिबार दोस्रो फुलकन्ट्याक्ट क्योकुशिन कराँते प्रतियोगिता

हेटौंडा । मकवानपुरमा दोस्रो जिल्लास्तरीय फुलकन्ट्याक्ट क्योकुशिन कराँते प्रतियोगिता शनिबार आयोजना हुने भएको छ। मकवानपुर जिल्ला क्योकुशिन कराँते संघ (आईकेओ) को आयोजनामा हेटौंडा–४ पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ।

आयोजकका अनुसार प्रतियोगितामा जिल्लाका ६ वटा डोजोबाट करिब १ सय ३० जना महिला तथा पुरुष खेलाडीको सहभागिता रहनेछ। हेटौंडा, वनस्पति, उत्तरपानी, हर्नामाडी, बस्तीपुरलगायत विभिन्न डोजोका खेलाडीले फुलकन्ट्याक्ट फाइट विधामा प्रतिस्पर्धा गर्नेछन्।

संघका मुख्य प्रशिक्षक विष्णु श्रेष्ठका अनुसार महिलातर्फ ४० केजीदेखि ५० केजीसम्म र पुरुषतर्फ ३० केजीदेखि ५० केजीसम्मका विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ। जुनियरतर्फ १० वर्षदेखि र सिनियरतर्फ १८ वर्षसम्मका खेलाडी सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

प्रतियोगिताको उद्देश्य जिल्लामा कराँते खेलको विकास, नयाँ खेलाडी उत्पादन, खेलाडीबीच आपसी सद्भाव बढाउने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धाका लागि सक्षम खेलाडी तयार गर्नु रहेको आयोजकले जनाएको छ। मकवानपुरका खेलाडीले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै जिल्लाको पहिचान स्थापित गरेको प्रशिक्षक श्रेष्ठले बताए।

प्रतियोगिताका विजेतालाई स्वर्ण, रजत र कांस्य पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिनेछ। साथै उत्कृष्ट एक पुरुष र एक महिला खेलाडीलाई विशेष पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि करिब दुई लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आर्थिक व्यवस्थापनका लागि हेटौंडा उपमहानगरपालिकासँग सहयोगको प्रस्ताव गरिएको र पूर्वखेलाडी, खेलप्रेमी तथा स्थानीय व्यवसायीबाट समेत सहयोग प्राप्त हुने अपेक्षा आयोजकको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.