मकवानपुरमा औषधि पसलको अनुगमन तीव्र, नियम उल्लंघन गर्नेलाई कारबाही

हेटौंडा । मकवानपुरमा औषधि व्यवसायलाई कानुनी दायराभित्र ल्याउन जिल्ला प्रशासन कार्यालयले अनुगमन र कारबाहीलाई थप प्रभावकारी बनाएको छ। औषधि ऐन तथा प्रचलित मापदण्ड पालना नगर्ने व्यवसायीमाथि कडाइ गर्ने अभियानअन्तर्गत प्रशासनले विभिन्न औषधि पसलको निरीक्षण सुरु गरेको हो।

यसैक्रममा बागमती गाउँपालिका–फापरबारीस्थित कन्सर्न मेडिकल लाई आवश्यक मापदण्ड पूरा नगरी फार्मेसी सञ्चालन गरेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा औषधि व्यवसायीसँग भएको छलफलमा औषधि व्यवसाय नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित भएकाले कानुनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको थियो। उनले औषधि बिक्रीलाई सामान्य व्यापारका रूपमा नभई जिम्मेवार सेवाका रूपमा सञ्चालन गर्न आग्रह गरेका छन्।

अनुगमन टोलीले औषधि पसलसँगै होटल तथा खाद्य व्यवसायको पनि निरीक्षण गर्दै सरसफाइ, औषधिको सुरक्षित भण्डारण, सेवा प्रवाह र कानुनी मापदण्डको अवस्थाबारे मूल्याङ्कन गरेको जनाएको छ।

यसअघि जिल्ला प्रशासनले नवीकरण नगरेका ४० भन्दा बढी औषधि पसललाई कारोबार बन्द गर्न निर्देशन दिएको थियो। औषधि व्यवस्था विभागले जेठ २८ सम्म नवीकरण नगरेका देशभरका पाँच हजारभन्दा बढी औषधि पसलको सञ्चालन प्रमाणपत्र रद्द गरेपछि मकवानपुरका केही फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्मा पनि दर्ता खारेजीको सूचीमा परेका थिए।

प्रशासनका अनुसार अनुगमनका क्रममा औषधि बिक्री गर्ने व्यक्तिको इजाजत, औषधिको स्रोत, म्याद, मूल्यसूची, बिलबिजक, भण्डारण अवस्था तथा उपभोक्तालाई प्रदान गरिने सेवाको समेत परीक्षण गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले बजार अनुगमन आगामी दिनमा अझ प्रभावकारी बनाइने र नियम उल्लंघन गर्ने व्यवसायीमाथि कानुनअनुसार कारबाही निरन्तर जारी रहने जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.