काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्यलाई डिजिटल प्रणालीबारे अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीको आन्तरिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले तयार गरिएको ‘प्लसआरएसपी’ प्रणालीबारे जानकारी गराउन शुक्रबार बिहान कार्यक्रम राखिएको हो।
रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार बिहान १०ः३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने कार्यक्रममा पार्टी सभापति रवि लामिछानेको पनि सहभागिता रहनेछ। कार्यक्रममा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक प्रशिक्षणसमेत दिइनेछ।
नयाँ प्रणाली लागू भएपछि प्रत्येक सांसदले आफ्ना दैनिक गतिविधि अनिवार्य रूपमा डिजिटल प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ। सांसदबीच भेटघाटका लागि अनलाइनबाट समय तय गर्न सकिने, संसदमा उठाइने विषयवस्तु प्रणालीमै दर्ता गर्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, छलफल र अन्य कार्यक्रमको विवरण पनि सोही पोर्टलमा राख्नुपर्ने व्यवस्था गरिएको छ।
यस प्रणालीमार्फत नागरिकले आफ्ना निर्वाचन क्षेत्रका सांसदसँग प्रत्यक्ष गुनासा तथा सुझाव राख्न सक्नेछन्। ती गुनासाको अवस्थाबारे अनलाइनमार्फत ट्र्याकिङ गर्न मिल्ने र त्यसलाई सांसदको कार्यसम्पादन मूल्याङ्कनको आधारसमेत बनाइने रास्वपाले जनाएको छ।
पार्टीले डिजिटल प्रविधिको प्रयोगमार्फत सांसदको कामलाई थप पारदर्शी, व्यवस्थित र जवाफदेही बनाउने लक्ष्य राखेको जनाएको छ।
























