अनावश्यक स्वास्थ्य परीक्षण नगर्नु स्वास्थ्य बीमा बोर्डको आग्रह

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षको मङ्सिर महिनासम्मको दाबी बक्यौता भुक्तानी सम्पन्न भएको जनाएको छ। साथै, बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य परीक्षण वा उपचारको माग नगर्न र स्वास्थ्यकर्मीलाई त्यस्तो दबाब नदिन आग्रह गरेको छ।

बोर्डले शुक्रबार जारी गरेको विज्ञप्तिमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई मङ्सिरसम्मको बक्यौता भुक्तानी गरिएको उल्लेख गर्दै पुस महिनादेखिको सात महिनाको दाबी रकम भने अझै भुक्तानी गर्न बाँकी रहेको जनाएको छ।

बोर्डका अनुसार चालु आर्थिक वर्षमा विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई २३ अर्ब ४४ करोड २ लाख ९८ हजार रुपैयाँ भुक्तानी गरिएको छ। पुसयताको दाबी रकम भुक्तानीका लागि आवश्यक बजेट सरकारबाट विनियोजन भएपछि मात्रै भुक्तानी प्रक्रिया अघि बढाइने जनाइएको छ।

बाँकी रकमको व्यवस्थापनका लागि सम्बन्धित निकायसँग आवश्यक बजेट जुटाउने प्रयास भइरहेको पनि बोर्डले जनाएको छ।

बोर्डले बीमित सेवाग्राहीलाई आवश्यकताभन्दा बढी स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न आग्रह गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि आवश्यकताभन्दा बढी परीक्षण वा उपचार गर्न दबाब नदिन अपिल गरेको छ। साथै स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको बोर्डले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.