धादिङमा घरायसी विवादपछि बुवाको हत्या, ३५ वर्षीय छोरा पक्राउ

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४ यार्सा टोलमा घरायसी विवादका क्रममा छोराले फलामको पाइपले प्रहार गर्दा बुवाको मृत्यु भएको छ।

प्रहरीका अनुसार शनिबार अपराह्न ३५ वर्षीय सुजन सुनारले आफ्नै बुवा ६० वर्षीय धननारायण सुनारमाथि फलामको पाइपले प्रहार गरेका थिए। टाउकोमा गम्भीर चोट लागेका धननारायणलाई तत्काल फूलखर्क ग्रामीण अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा शनिबार साँझ चिकित्सकले मृत घोषणा गरेका हुन्।

स्थानीय जनप्रतिनिधिका अनुसार आरोपित सुजन लामो समयदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्यासँग जुधिरहेका थिए। उनले यसअघि पनि परिवारप्रति आक्रामक व्यवहार देखाउने गरेको र वडा कार्यालयले परिवारलाई आवश्यक परामर्श तथा उपचारको पहल गर्न पटक–पटक सुझाव दिएको बताइएको छ।

घटनापछि स्थानीयवासी र जनप्रतिनिधिको सहयोगमा सुजनलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको थियो। हाल उनी जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा रहेका छन्।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ पठाइएको प्रहरीले जनाएको छ। घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.