विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल र सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन्। ट्राफिक नियम र जरिवानासम्बन्धी आफ्नो अभिव्यक्ति विवादमा परेपछि उनले फेसबुकमार्फत यस्तो निर्णय सार्वजनिक गरेका हुन्।
पुनले अत्यावश्यक सार्वजनिक महत्वका विषयबाहेक कुनै पनि युट्युबर, सामाजिक सञ्जाल वा पत्रकारलाई एक शब्द पनि अन्तर्वार्ता नदिने बताएका छन्। उनका अनुसार हालैको अन्तर्वार्तामा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई ५० हजार रुपैयाँ जरिवाना गर्नुपर्ने भन्ने अभिव्यक्ति विवादित बनेपछि उनले उक्त भनाइ फिर्ता लिँदै माफीसमेत मागेका छन्।
उनले आफूलाई विषयबारे विस्तृत जानकारी नभएको अवस्थामा अन्तर्वार्ताकारहरूले पटक–पटक सोधेको र ५० हजार रुपैयाँ जरिवानाको प्रसंग पत्रकारहरूले नै उठाएको दाबी गरेका छन्। आफूले भने ट्राफिक नियम अटेर गर्नेहरूलाई कडा कारबाही आवश्यक रहेको सन्दर्भमा मात्र धारणा राखेको उनको भनाइ छ।
पुनले नियम उल्लंघन र अपराधलाई नियन्त्रण गर्न आवश्यक जरिवाना तथा कानुनी कारबाही अपरिहार्य हुने उल्लेख गर्दै आफ्नो अभिव्यक्तिबाट कसैको मनमा चोट पुगेको भए क्षमायाचना गरेका छन्।
























