सिरहा, असार २८ — सिरहाको गोलबजार नगरपालिका–७ मा आइतबार वर्षाको पानी जमेर बनेको पोखरीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु भएको छ। पशु बजार नजिक रहेको पानी जमेको खाल्डोमा नुहाउन गएका उनीहरू गहिरो भागमा डुबेका हुन्।
मृत्यु हुनेमा स्थानीय अब्बास खानका ८ वर्षीय सैफुल शेख, १० वर्षीया रुविना खातुन र १२ वर्षीया सवनम खातुन रहेका छन्। उनीहरू दाजुभाइ–दिदीबहिनी भएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार वर्षायाममा पानी भरिएर अस्थायी पोखरी बनेको उक्त स्थानमा बालबालिका खेल्ने र नुहाउने गरेका थिए। आइतबार पनि सोही क्रममा उनीहरू डुबेको खबर पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तत्काल घटनास्थल पुगेको थियो।
सुरक्षाकर्मीले उद्धार गरी तीनै जनालाई बाहिर निकाले पनि चिकित्सकीय परीक्षणका क्रममा उनीहरूलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।
घटनाले गोलबजार क्षेत्र शोकमग्न बनेको छ। वर्षाको समयमा खुला खाल्डाखुल्डी तथा पानी जम्ने स्थान बालबालिकाका लागि घातक बन्ने भएकाले यस्ता जोखिमयुक्त क्षेत्रको समयमै व्यवस्थापन गर्न स्थानीयवासीले सम्बन्धित निकायसँग माग गरेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। स्थानीय तहमा पाँच जना बालबालिका पानीमा डुबेको चर्चा भए पनि हालसम्म तीन जनाको मृत्यु भएको मात्रै आधिकारिक रूपमा पुष्टि भएको छ भने अन्यबारे खोजी तथा तथ्य संकलन जारी रहेको सुरक्षा निकायले जनाएको छ।
























