काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि यात्रामा एक कदम मात्र टाढा रहेका फ्रान्स र स्पेन मंगलबार पहिलो सेमिफाइनलमा आमनेसामने हुँदैछन्। विश्व फुटबलका दुई सफल युरोपेली राष्ट्रबीचको यो भिडन्त प्रतियोगिताकै सबैभन्दा आकर्षक खेलमध्ये एक मानिएको छ।
टेक्ससको अर्लिङटनस्थित ७० हजार ६४९ दर्शक अट्ने ड्यालस स्टेडियममा हुने खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पे र स्पेनका युवा सनसनी लामिन यामालमाथि विशेष नजर रहनेछ। क्लब फुटबलमा क्रमशः रियल मड्रिड र बार्सिलोनाबाट प्रतिस्पर्धा गर्ने यी दुई स्टार अब आफ्नो देशलाई विश्वकपको फाइनलमा पुर्याउने लक्ष्यसहित मैदान उत्रनेछन्।
दुवै टोली उत्कृष्ट लयमा रहेकाले खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। अनुभवी खेलाडी र सन्तुलित टोलीका कारण फ्रान्सलाई केही बलियो मानिए पनि स्पेनले युवा जोश र आक्रामक खेलमार्फत चुनौती दिने तयारी गरेको छ।
तथ्यांक विश्लेषक संस्था ‘अप्टा’को सुपर कम्प्युटरले सार्वजनिक गरेको अनुमानअनुसार निर्धारित ९० मिनेटभित्र फ्रान्सको जित्ने सम्भावना ४२.१ प्रतिशत रहेको छ भने स्पेनको सम्भावना ३१.८ प्रतिशत छ। खेल अतिरिक्त समयमा पुग्ने सम्भावना २६.१ प्रतिशत रहेको प्रक्षेपण गरिएको छ।
विश्वकपको फाइनल यात्रा तय गर्ने यो खेलले फुटबल समर्थकमाझ ठूलो उत्साह सिर्जना गरेको छ।
























