नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देशभर तथा विश्वभर रहेका नेपाली भाषी समुदायले विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाउँदै छन्।
वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्त आचार्यले संस्कृतमा रहेको रामायणलाई सरल नेपाली भाषामा भावानुवाद गरी आम नागरिकसम्म पुर्याएका थिए। यही योगदानका कारण उनी नेपाली भाषा र साहित्यका आदिकविका रूपमा स्थापित भएका हुन्।
भानुभक्तलाई पहिलोपटक ‘आदिकवि’को उपाधि साहित्यकार मोतिराम भट्टले दिएका थिए। उनले भानुभक्तका रचनाहरू सङ्कलन गरी पुस्तकका रूपमा प्रकाशन गरेपछि उनका कृतिहरू व्यापक रूपमा परिचित बनेका थिए।
रामायणबाहेक भानुभक्तका ‘वधूशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ र ‘रामगीता’ लगायतका कृतिले नेपाली साहित्यलाई समृद्ध बनाएका छन्। उनका रचनाले भाषा, धर्म, संस्कृति, नैतिकता, कर्तव्यबोध र राष्ट्रिय एकताको सन्देश प्रवाह गरेको मानिन्छ।
भानुभक्तले नेपाली भाषालाई जनस्तरसम्म पुर्याएर साहित्यिक चेतना विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको साहित्यकारहरूको भनाइ छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत भावनात्मक रूपमा जोड्ने काम गरेको मूल्याङ्कन गरिन्छ।
हरेक वर्ष भानुजयन्तीका अवसरमा नेपालका साथै भारतको दार्जिलिङ, सिक्किम, भुटान, म्यानमार, अमेरिका लगायत नेपाली भाषी समुदाय रहेका विभिन्न देशमा साहित्यिक गोष्ठी, कविगोष्ठी, सम्मान कार्यक्रम र सांस्कृतिक समारोह आयोजना गर्ने परम्परा रहेको छ।
























