सातै प्रदेशमा सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशका सातै प्रदेशमा सुविधासम्पन्न जलन (बर्न) उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा उनले प्रमुख सरकारी अस्पतालका बर्न वार्डलाई सुदृढ बनाउँदै गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न जोड दिएका हुन्।

प्रधानमन्त्री शाहले संघ, प्रदेश सरकार र सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय गर्दै स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। साथै अस्पतालको सरसफाइ, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रयोग र सुशासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि निर्देशन दिए।

उनले विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन निजी अस्पतालले ओपिडी सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियत दरमा उपलब्ध गराउने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरे।

छलफलका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, अनुसन्धान, पूर्वाधार विकास तथा स्वास्थ्य सेवाको डिजिटल रूपान्तरणका विषयमा सुझाव प्रस्तुत गरेका थिए। साथै प्रतिष्ठानका नाममा रहेका जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको असरबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.