मकवानपुरमा बाढीले स्कुटर बगायो, चालकको अवस्था अज्ञात

सांकेतिक तस्बिर

हेटौंडा, ३० असार। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार स्कुटरसहित एक चालक बाढीमा बेपत्ता भएका छन्। आकस्मिक आएको बाढीले स्कुटर बगाएपछि सुरक्षा निकायले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार अपराह्न करिब ३ बजे कुलेखानी ड्याम नजिकको सिमखोला तर्ने क्रममा स्कुटरसहित चालक बाढीमा बगेका हुन्। स्थानीयले घटनाबारे जानकारी दिएपछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो।

मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार बेपत्ता भएका व्यक्तिको परिचय अझै खुलेको छैन। स्कुटरको नम्बर, चालकको ठेगाना तथा उनी कहाँबाट कहाँ जाँदै थिए भन्ने विवरण पनि यकिन हुन बाँकी रहेको उनले बताए।

प्रारम्भिक जानकारीअनुसार बेपत्ता हुने व्यक्ति पुरुष हुन्। तीव्र बहावका कारण खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको छ भने सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दाले पनि खोलाको विभिन्न क्षेत्रमा खोजी जारी राखेका छन्।

लगातारको वर्षाका कारण मकवानपुरका खोलानालामा पानीको बहाव बढेकाले प्रशासनले नदी तथा खोला तर्ने प्रयास नगर्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणसँग आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.